पाकिस्तानी मोडल कन्दील बलोचको हत्या « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


पाकिस्तानी मोडल कन्दील बलोचको हत्या


0
Shares

काठमाडौं, साउन १ । पाकिस्तानी मोडल कन्दील बलोचको गोली हानेर हत्या गरिएको छ ।

पाकिस्तानको पन्जाब प्रान्तका प्रहरी प्रवक्ता नबीला गन्जफरले उनको मृत्युको पुष्टि गरेका छन् ।

पाकिस्तानको मुल्तानमा कन्दीलका भाइले उनको हत्या गरेको बताइएको छ । उनी मुल्तानमा घुम्न पुगेकी थिइन् ।

हत्यापछि उनका भाइ फरार रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

कन्दील अनेक विवादका कारण सामाजिक सन्जालमा चर्चामा थिइन् । हालैमा एक धर्मगुरुकासाथ सेल्फी पोस्ट गरेपछि उनी थप चर्चामा आएकी थिइन् ।

मुस्लिम धर्मगुरु मुफ्ती अब्दुल कवीकासाथ उक्त सेल्फीपछि पाकिस्तानमा निकै हंगामा भएको थियो ।

कन्दील सामाजिक सन्जालमा विभिन्न भनाइका कारण नै चर्चामा आएकी थिइन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मजाक उडाएकी थिइन् भने सामाजिक सन्जालमा खुलेआम पूर्वक्रिकेटर इमरान खान र भारतीय क्रिकेटर विराट कोहलीप्रति आफ्नो प्रेम जाहेर गरेकी थिइन् ।

यसै वर्ष मार्चमा उनले विश्वकप ट्वेन्टी–२० प्रतियोगिताअघि पाकिस्तानले भारतलाई हराएको खन्डमा ‘स्ट्रिप डान्स’ गर्ने घोषणा गरेकी थिइन् । तर, उक्त खेल भारतले जितेको थियो ।

कन्दील बलोच पाकिस्तानी मोडल र टीभी अभिनेत्री थिइन् । (एजेन्सी)