
काठमाडौं, साउन १ । चिकित्सकहरुले मेडिकल विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका छन् ।
राजधानीमा आज गरिएको साक्षात्कारमा चिकित्सकहरुले मनमोहन अधिकारीका नाममा मेडिकल विश्वविद्यालय खोल्न सुुझाव दिँदै यसैले नै सम्पूर्ण चिकित्सा क्षेत्रका समस्या समाधान हुने दाबी गरे ।
चिकित्सकहरुले चिकित्सा क्षेत्रमा देखिएका विकृति हटाउनुपर्ने माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीका माग पनि मेडिकल विश्वविद्यालय खोलेमा पूरा हुने बताए ।
चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउनुपर्ने सबै चिकित्सकको माग रहेको भन्दै जतिसक्दो चाँडो समस्याको समाधान गर्न सरकारलाई सुझाव दिए । उनीहरुले स्वास्थ्य क्षेत्रका मागबाहेक अन्य माग फिर्ता लिन अनसनरत डा. केसीलाई सुझाव दिएका थिए ।
वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालले स्वास्थ्य क्षेत्र व्यवस्थित गर्न डा. केसीले उठाउँदै आएका मागप्रति आफ्नो समर्थन रहेको तर अन्य मागमा भने समर्थन नभएको स्पष्ट पारे ।
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर केदारनरसिंह केसीलगायतले डाक्टर केसीको अभियानलाई सबैले साथ दिनुपर्ने भन्दै विगतमा सरकारसँग भएका सवै सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्