
काठमाडौं, वैशाख १४ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् ।
राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा गभर्नर डा. नेपालले आर्थिक वर्ष २०७५÷७६ मा समेत ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक भइसकेको र लगातार ३ वर्षसम्म औसत ७ प्रतिशतको आर्थिक वृद्धिले पनि आर्थिकको सम्भाव्यता बढेको बताएका हुन् ।
उनले अहिले मुलुकको समग्र आर्थिक व्यवस्थापन सकारात्मक रहेको बताए । संघीयता कार्यान्वयनसँगै आर्थिक विकासलाई तिव्र गतिमा अघि बढाउन राष्ट्र बैंकले पनि तिव्र गतिमा काम गरेको भन्दै उनले स्थानीय तहहरुमा बैंकहरु पुगेको स्पष्ट पारे ।
भौतिक पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता पूरा गर्ने उद्देश्यले पूर्वाधार विकास बैंक स्थापना भएको र बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूूनीकरण गर्न बैंकहरुले सूूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नुपर्ने व्यवस्था गरेको जानकारी दिए ।
कार्यक्रममा बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यसै आर्थिक वर्षभित्र सबै स्थानीय तहमा बैंक स्थापना भइसक्ने दाबी गरे । सरकारले सुरु गरेको ‘सबैको बैंक खाता अभियान’लाई सफल बनाउन पनि आफूहरुले काम गरिरहेको उनको भनाइ थियो ।
वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंकले २०७५ चैत मसान्तसम्ममा विभिन्न स्थानीय तहहरुमा ८ हजार २०५ बैंक शाखा पुगिसकेको जानकारी दिएको छ । त्यस्तै चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या २ करोड ५७ लाख पुगेको पनि बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ७२४ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगिसकेको जनाएको छ । २०७५ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ हजार ९ अर्ब पुगेको छ भने कर्जा लगानी २ हजार ७४९ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्