
काठमाडौं, साउन ३ । आज साउन महिनाको पहिलो सोमबार । देशभरका शिव मन्दिरहरुमा हिन्दू नारीहरुले आफ्नो सौभाग्य र असल पतिको कामना गर्दै दर्शन तथा जल चढाउने गर्दछन् ।
काठमाडौको पशुपतिनाथ लगायत ललितपुरको सन्तानेश्वर भक्तपुरको डोलेश्वर लगायतका शिव मन्दिरहरुमा भक्तजनको ठूलो भीड लागेको छ ।
म्याग्दीको बेनी नगरपालीको घतान स्थित गलेश्वर मन्दिरमा समेत भक्तजनहरुको ठूलो भीड लागेको छ ।
धार्मिक मान्यता अनुसार साउन महिना भगवान् शिवलाई मनपर्ने महिना र सोमबार मनपर्ने दिन भएको मानिन्छ । साउनका सोमबारभरि चोखो बसी व्रत बस्ने तथा चोखो खाने चलन छ ।
साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई र्सोह शृंगारमा सजिएर उपासना गर्ने चलन छ । पहाड तथा काठमाडौंका धेरै महिला साउनका सोमबारभरि व्रत बस्छन ।
साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । कतिपयले सतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व छ । साउन महिनामा बढी वर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ ।
तराईमा साउन महिनाको पूर्णिमाको आसपासको १५ दिन मधुश्रावणीका रूपमा महिलाहरूले मन्दिरमा गएर, चोखो फूल चढाएर व्रत बस्ने चलन छ ।
पूणिर्मालाई मनको देवता मानिने भएकाले त्यसको आसपास व्रत बस्ने चलन चलेको मानिन्छ । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले छोराछोरीको दीर्घायुको कामना गर्दै तथा अविवाहितहरूले असल श्रीमान् पाइयोस् भनेर मधुश्रावणी व्रत बस्ने गर्छन ।
प्रतिक्रिया दिनुहोस्