
काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रले रिक्त पोलिटब्युरो, सचिवालय र केन्द्रीय कार्यालयमा थप गर्ने सदस्यकाबारेमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा पार्टीको केन्द्रीय सचिवालय, पोलिटब्युरो एवं अरु निकायका संरचनामा थप गर्ने सदस्यकाबारेमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्षलाई नै दिइएको उल्लेख छ ।
माओवादी केन्द्रको कुल २५५ सदस्यीय पोलिटब्युरोमा ७७ पद रिक्त रहेका छन् ।
त्यसमा सोमबारको बैठकले ६० जना पोलिटब्युरो सदस्य चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको हो । विभिन्न प्रदेश, विभाग एवं मोर्चाबाट सदस्य चयन गरिनेछ ।
यस्तै, सचिवालयमा १८ र केन्द्रीय कार्यालयमा १० पद रिक्त रहेका छन् । बैठक पुनः साँझ बस्ने जनाइएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, अविश्वासको प्रस्तावलगायतका विषयमासमेत छलफल भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्