
फाइल फोटो
काठमाडौं, साउन ३ । सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेकोबेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।
साँझ ५ बजेबाट सुरु हुने बैठकमा मुलुकमा सिर्जित समसामयिक राजनीतिक विषयमा कुराकानी हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई औपचारिकरुपमा समर्थन गर्ने निर्णय गरेपछि दुबै दलले वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन ।
उक्त विषयलाई लिएर दुबै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविद्हरुसँग आ–आफ्नै ढंगबाट परामर्श गरिरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्