
काठमाडौं । आगामी पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर ९ दशमलब ६ प्रतिशत सम्म पुग्ने अनुमान गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार २०७५/७६ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो ।
तीन आर्थिक वर्षसम्म आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा माथि रहेको र यस वर्षको आर्थिक वृद्धिदर ६ दशमलब ८ प्रतिशत पुग्ने प्रक्षेपण विभागको छ ।
गत आर्थिक वर्षमा ६ दशमलब ३ प्रतिशत आर्थिक बृद्धि भएको थियो । नेपालको कुल ग्राहस्थ उत्पादन ३४ खर्ब ६४ अर्ब पुगेको छ ।
अघिल्लो बर्ष ३० खर्ब ३१ अर्ब रहेकोमा यो बर्ष ४ खर्बले बढेको हो ।
चालु वर्षमा कृषि क्षेत्रको ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत रहने विभागको प्रक्षेपण छ ।
कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान २६ प्रतिशत रहने अनुमान विभागको छ ।
विभागले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ३४ डलर पुग्ने पनि जनाएको छ । गत वर्ष प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर थियो ।
आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय बचत ५२.३८ प्रतिशत पुर्याउने विभागले जनाएको छ । गत आर्थिक वर्षमा राष्ट्रिय आय ४७.०९ प्रतिशत रहेको थियो ।
कुल गार्हस्थ्य उत्पादनमा प्रदेश नंम्बर ३ को सबैभन्दा बढि अर्थात ३६ प्रतिशत योगदान रहेको छ भने सबैभन्दा न्युन प्रदेश नंम्बर ६ को ६.४ प्रतिशत रहेको विभागको तथ्याकंले देखाएको छ ।
आगामी आर्थिक वर्षमा २७ प्रतिशत कृषी क्षेत्रको योगदान रहने पनि विभागको तथ्याकंले देखाएको छ ।
यस वर्ष बेरोजगारीदर भने घटेको पनि जनाइएको छ । अघिल्लो वर्ष बेरोजगारी दर ३४.२ प्रतिशत रहेकोमा यस वर्ष भने घटेर ११.४ प्रतिशतमा झरेको विभागले जनाएको छ ।
काम गर्ने उमेर समुहका २ करोड ८ लाख मध्ये ७१ लाख रोजगार रहेका र ९ लाख बेरोजगार रहेको पनि तथ्याकंमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्