५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


‘जलविद्युतले नेपाललाई एशियाकै समृद्ध राष्ट्र बनाउन सक्छ’


0
Shares

काठमाडौं, साउन ४ । नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले जलविद्युतले नेपाललाई दक्षिण एशियाको मात्रै नभएर एशियाकै समृद्ध राष्ट्र बनाउने सम्भावना रहेको बताएका छन् ।

नेपाल पेभिलियन र इन्डियन इस्टिच्यट अफ पब्लिक पोलिसीको संयुक्त आयोजनामासोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले दुई उर्वर मुलुकको बीचमा रहेको नेपालले बिद्युत उत्पादनमा केन्द्रित भएर लाग्ने हो भने ठूलो फाइदा लिनसक्ने बताए ।

सानातिना विषयमा अल्झिनुभन्दा मेघा प्रोजेक्टमा हात हाल्न सके नेपालको समृद्धि धेरै टाढा नभएको उनको धारणा थियो । नेपाल र भारतको आर्थिक समृद्धिको चाहना उस्तै भएको बताउँदै यसमा राजनीति र अर्थनीति फरक बाटो भएर हिंड्नुपर्ने उनको सुझाव थियो ।

नकारात्मक सोचलाई त्यागेर विकासको बाटोमा लाग्ने हो भने नेपालले पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण हाइड्रो पावरलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले नेपालको समृद्धिका लागि दक्षिण यसियामा रहेका नागरिक स्तरको सम्बन्धमा सुधार हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, विषयगत विज्ञहरु एवं संस्थागत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेपाली अर्थतन्त्रको सुधारका लागि वैदेशिक सहयोग विशेषतः पुँजीगत सहयोग र नयाँ उपयुक्त प्राविधिक सहयोगको आवश्यकता माथि जोड दिइएको थियो ।

निजी क्षेत्रबीचको पारस्परिक सम्बन्ध र सहकार्यले नेपालको अर्थतन्त्रलाई उकास्न मिल्ने र नागरिक समाज बीचको पारस्परिक सम्बन्ध र सहकार्यले बल्झिएको अनेकन विषयहरु सुल्झाउन मद्दत मिल्ने धारणा सहभागीहरुले राखेका थिए ।

नेपालमा सञ्चालनमा आउन लागेका भारतीय लगानीकर्ताका परियोजनाहरु हालसम्म पनि सम्पन्न नभएकोमा सहभागीहरुले बढी चाँसो व्यक्त गरेका थिए । भारतीय लगानीका आयोजनाहरुलाई सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा पनि जोड दिइएको थियो ।

हाल प्राप्त उपलब्धिलाई कसरी नेपाली सन्दर्भमा प्रयोग गर्न सकिन्छ भन्ने चाहना भारतीय पक्षका सहभागीहरुले व्यक्त गरेका थिए ।

जलविद्युत विकास, पर्यटन व्यवसाय, कृषि उत्पादन, भौतिक पूर्वाधार निर्माण जस्ता क्षेत्रमा भारतले हासिल गरेका उपलब्धि र भारतमा प्रयोगमा ल्याइएको प्रविधिको नेपाली सन्दर्भमा प्रयोगमा ल्याउन भारतीय निजी क्षत्रहरु उत्सुक भएको जानकारी भारतीय सहभागिहरुले व्यक्त गरेका थिए ।

दुवै देशका लागि लाभदायक हुने यस प्रकारको कार्यक्रम आगामी दिनमा पनि विभिन्न क्षेत्रमा गरिने पेभिलियन गु्रपका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।