
काठमाडौं । २५ प्लस समूहले नक्कली नागरिकताको छानबिन गरेर खारेज गर्नसक्ने अधिकार सम्पन्न उच्चस्तरीय नागरिकता छानविन आयोग गठन गर्न माग गरेको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो समूहले अन्य विदेशीहरुको जस्तै भारतीयहरुको पनि अभिलेख राख्नुपर्ने र नेपालमा उनीहरुको असीमित बसाई र काम गराईको पनि नियमन गर्नुपर्ने माग समेत गरेको हो ।
समूहका संयोजक आदित्यमान श्रेष्ठले गैर नेपालीलाई दिइएका सवै नागरिकता खारेज गरिनुपर्ने बताए ।
नागरिकता ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहँदा रहँदै गृह मन्त्रालयले वंशजको नागरिकता बाँड्न परिपत्र गरेकोप्रति आपत्ति जनाउँदै उनले यस्तै स्थिति रहिरहे नेपालमा नागरिकता समस्या कहिल्यै समाधान हुदैन भने ।
कार्यक्रममा समूहका सदस्य सूर्यनाथ उपाध्यायले स–साना घटना छानविन गर्न समिति बनाउने सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा छानबिन आयोग बनाउन किन आनाकानी गरिरहेको छ भन्ने प्रश्न गरे ।
समूहका अर्का सदस्य ऋषिराम लामिछानेले अनागरिकले लिएका नागरिकता छानबिन गर्नुपर्ने बताउने गृहमन्त्री रामबहादुर थापाल कसको दबावमा परेर परिपत्र जारी गर्ने अवस्थामा पुग्नुभयो भन्ने विषय गम्भीर छ भने ।
प्रतिक्रिया दिनुहोस्