
काठमाडौं, साउन ४ । टाटा मोटर्सको नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा बसको नयाँ मोडल ‘टाटा एलपीओ’ बजारमा ल्याएको छ ।
कम्पनीले काठमाडौंमा एक कार्यक्रम गरी टाटा एलपीओ १६१८ मोडलको बजार प्रवेश गराएको हो ।
कम्पनीले नेपालकै पहिलो ग्राहक मन्जुश्री यातायात सेवा समितिलाई औपचारिकरुपमा उक्त बस हस्तान्तरण पनि गरेको छ ।
१२ मिटर लामो बसमा १८० हर्ष पावर क्षमताको इन्जिन रहेको कम्पनीले जनाएको छ ।
बसको उच्चइन्जिन क्षमताले नेपालको पहाडी क्षेत्रमा पनि भारबहन गर्ने कम्पनीको दाबी छ ।
यसमा रहेको एन्टी लक ब्रेकिङ सिस्टम, भ्वाइथ रिटार्डर, रेडियल टायरजस्ता विशेषताका कारण यी बस सुरक्षित रहने पनि कम्पनीको दाबी छ ।
कम्पनीका प्रमुख सन्चालन अधिकृत राजनबाबु श्रेष्ठले यस बसबाट यात्रुहरुको काठमाडौं–दिल्ली यात्रा अझ सहज हुने विश्वास व्यक्त गरे ।
उनले कम्पनीले आफ्ना उत्पादन बेच्नेमात्र नभइ बिक्रीपछि पनि विश्वसनीय सेवा प्रदान गर्दै आएको दाबी गरे ।
नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा बस सन्चालन सुरु गर्ने मन्जुश्री यातायात सेवा समितिले विगत १५ वर्षदेखि नेपालबाट भारतका विभिन्न सहरमा बस सेवा सन्चालन गर्दै आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्