१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


महाकालीले बाँध चर्काउन थालेपछि अस्थायी तटबन्ध बनाउन सुरक्षा निकाय सक्रिय


0
Shares

भीमदत्तनगर, साउन ५ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीको बाँध फुट्ने खतरा बढेको छ ।

दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध मङ्गलबार साँझ अचानक फुट्ने सम्भावना बढेपछि सोको रोकथामका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय भएका छन् ।

त्यसैगरी, भत्किने सम्भावना रहेको तटबन्ध बनाउनका लागि सदरमुकाम भीमदत्तनगरस्थित भगतपुर ब्यारेकबाट नेपाली सेनाको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ ।

तटबन्ध मंगलबार दिउँसोदेखि चर्किएको भए पनि अबेर साँझ अचानक फुट्न थालेको स्थानीयवासीले जानकारी दिएका छन् ।

‘दिउँसैदेखि सामान्यरुपमा तटबन्ध चर्किएको थियो,’ स्थानीय मोहनबहादुर सिंहले भने, ‘अहिले फुट्ने सम्भावना बढेपछि रोकथामको प्रयास भइरहेको छ ।’ तटबन्ध फुटे छेउछाउका बस्ती डुबान पर्ने त्रासमा स्थानीयवासी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले तटबन्धको केही जाली क्षतिग्रस्त हुन थालेपछि सोको नियन्त्रणमा सुरक्षा निकाय र स्थानीयवासी जुटेको जानकारी दिए ।

‘तटबन्ध फुटाइहाल्ने अवस्था छैन,’ उनले भने, ‘अहिले त्यहाँ तारजाली भर्ने काम भइरहेको छ ।’ उनले तटबन्ध फुट्ने सम्भावना न्यून रहेको बताए ।

उक्त स्थान महाकाली नदीमा रहेको झोलुङ्गे पुलभन्दा करिब ५०० मिटर उत्तरतर्फ रहेको छ । प्रहरीले महाकाली नदीमा पानी ७० हजार क्यूसेक मापन गरिएको जनाएको छ । (रासस)