२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


कांग्रेस र माओवादी केन्द्रबीचको बैठकमा के भयो ?


0
Shares

                                                                     फाइल फोटो

काठमाडौं, साउन ५ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच व्यवस्थापिका–संसदमा प्रस्तुत् अविश्वासको प्रस्तावलाई पारित गर्ने सम्बन्धमा छलफल भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार दुई दलका शीर्ष नेतृत्वबीच भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्न मिलेर अघि बढ्ने सहमति भएको हो ।

संसदको कार्यसूचीका सम्बन्धमा अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयकलाई कार्यसूचीमा समावेश गर्ने र पहिले अविश्वासको प्रस्तावमा छलफल गर्ने सहमति भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए ।

माओवादी केन्द्रले कांग्रेससँग मिलेर सरकारकाविरुद्धमा असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो । सो अविश्वास प्रस्तावमाथि विहीबार सदनमा छलफल सुरु हुँदैछ ।

बैठकले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो भएपछिमात्र अन्य कार्यसूचीलाई अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

छलफलमा कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र लेखक तथा केन्द्रकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता कृष्णबहादुर महराको सहभागिता रहेको थियो । रासस