२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


संसदको बैठकमा आज के–के हुँदैछ ?


0
Shares

काठमाडौं, साउन ६ । संसदको बैठक आज बस्दैछ । विहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्त्री केपी ओलीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

तर यस कार्यसूचीमा छलफल गराउने भन्नेमा प्रमुख दलबीच सहमति बन्न सकेको छैन । सत्तारुढ एमाले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिनु अगावैदेखि नियमित कार्यसूचीमा रहेको आर्थिक विधेयकमा छलफल गरिनुपर्ने अडानमा छ भने अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्तावमाथि छलफल गराउनु पर्ने पक्षमा छन् ।

वर्तमान सरकारमा एक महत्वपूर्ण घटक रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि यि तीन दलबीच राजनीतिक ध्रुवीकरण बढेको हो ।

दुबै पक्षको तयारी हेर्दा सहमतिपूर्वक समस्याको समाधानभन्दा पनि संसदमा मूठभेड निम्त्याउने खतरा बढेको छ । दलहरु आ–आफ्नै अडानमा रहँदा हिजो कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुनै सहमति बन्न सकेन ।

तीन दललाई सहमति ल्याउनकै लागि सभामुख ओनसरी घर्तीमगरले गरेका सबै प्रयास नरर्थक झै बनेका छन् । यसै विषयमा सहमति जुटाउन भनेर उनले बुधबार राष्ट्रपति विद्या भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा अस्ती प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गरेकी थिइन्  । तर कुनै सहमति बन्न नसक्दा दलहरु संसदमा आमनेसामने बन्ने अवस्था आएको छ ।

यसैबीच, कांग्रेस र माओवादी केन्द्रले संयुक्त बैठक नै गरेर अविश्वासको प्रस्तावलाई सबैभन्दा पहिले छलफल गराउनुपर्ने माग गरेका छन् । अविश्वासको प्रस्ताव अघि नबढाएसम्म बजेटसँग सम्बन्धित विधेयकलाई कार्यसूचीमा राख्न नदिने निर्णय ती दलको छ ।

बजेटका आश्रित विधेयक र अविश्वासको प्रस्ताव दुबैलाई कार्यसूचीमा भने समेट्न सकिने ती दलको भनाइ छ । दुबैले आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन र अविश्वास प्रस्तावको पक्षमा उभिन पनि निर्देशन दिएका छन् । मूख्य राजनीतिक दल आ–आफ्ना रणनीति तय गर्न विहानैदेखि जुटेका छन् ।