
बर्दिवास, साउन ६ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले परम्परागत संसदीय पद्धतिको फोहोरी खेल संसदमा सुरु भएको बताएका छन् ।
आफ्नो दलको साङ्गठनिक कामले महोत्तरीको बर्दिबास आईपुगेका डा भट्टराईले बिहीबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा सरकार बनाउने र ढाल्ने गलत परम्पराले स्थिर सरकार बन्न नसक्दा विकास कार्य अस्तब्यस्त हुने गरेको बताए ।
‘हाम्रोजस्तो मुलुकमा स्थिर र जनमुखी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हुनुपर्ने हाम्रो भनाइको औचित्य संविधान घोषणाको नौ महिनामै पुष्टि भयो,’ डा भट्टराईले भने ।
‘वर्तमान सरकार जनतालाई सुशासनको अनुभूति दिन, भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन र बैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित राख्न असफल त भएकै हो,’ डा भट्टराईले अगाडि भने, ‘तर, यसलाई ढाल्न उद्यत् दलसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका भने छैन ।’
पछिल्लो पटक देखिएको अविश्वास प्रस्ताव अमुक÷अमुक दलको सत्ता चढ्ने भर्याङ्को रङ्गमञ्चमात्र रहेको डा भट्टराईको भनाइ छ । मुलुकको अहिलेको आवश्यकता आर्थिक समृद्धि रहेको बताउँदै डा भट्टराईले आफ्नो अभियान यही अभिष्ट प्राप्तिमा केन्द्रित रहेको दाबी गरे ।
पार्टीका नेताहरु देवेन्द्र पौडेल, रामचन्द्र झा र महेन्द्र पासवानसहित बुधबार राति बर्दिबास आईपुगेका डा भट्टराईको बिहीबार बर्दिबासमा पार्टी कार्यालयको उद्घाटन गर्ने, बिभिन्न क्षेत्रका ब्यक्ति ब्यक्तित्वसँग भेटवार्ता गर्ने र अपराह्न प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलका महोत्तरी संयोजक कौशलेन्द्र शर्माले जानकारी दिए । (रासस)
प्रतिक्रिया दिनुहोस्