
काठमाडौं, साउन ६ । संसदको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । कार्यसूचीमा अविश्वासको प्रस्ताव रहेपनि केलाई अघि बढाउने भन्नेमा एमाले र कांग्रेस–माओवादी केन्द्रबीच विवाद कायमै रहेपछि विहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सहमतिमै संसदको कार्यसूची अघि वढाउन सभामुखले दिउँसो १ बजे शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । यसअघि नै सभामुखले बैठकमा प्रधानन्त्री केपी ओलीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने गरी कार्यसूची गरेकी छिन् ।
तर सत्तारुढ दलहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि नै नियमित कार्यसूचीमा रहेको आर्थिक विधेयकमा छलफल गरिनुपर्ने अडान राखेका छन् ।
उता, प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस र माओवादी केन्द्र पहिले अविश्वासको प्रस्तावमाथि छलफल गराउनु पर्ने अडानमा छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि यि तीन दलबीच राजनीतिक ध्रुवीकरण बढेको हो ।
दलहरु आ–आफ्नै अडानमा रहँदा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत कुनै सहमति बन्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्