
डडेल्धुरा, साउन ६ । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ ।
सुदूर पश्चिमका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकम मध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन ।
प्रशासनिक भन्दा विकास बजेट बढी फ्रिज भएको छ । फ्रिज रकम कुल बजेटको ११ दशमलव ८० प्रतिशत रहेको बताईएको छ ।
डडेल्धुरास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ३४ करोड ९१ लाख ९३ हजार बजेट फिर्ता गएको छ । कैलालीमा ९ अर्ब २९ करोड ७६ लाख ७३ बजेट विनियोजन भएकामा ९० करोड ६८ लाख ४८ हजार रकम फ्रिज भएको छ ।
अछाममा ३ अर्ब ८३ करोड ८८ लाख ७० हजार बजेटमा ६९ करोड ३८ लाख २१ हजार रकम फ्रिज भएको छ । बाजुरामा २ अर्ब ३ करोड ९८ लाख ८१ हजार बजेटमा १ अर्ब ८८ करोड ६३ लाख २४ हजार मात्र खर्च भएको छ भने डोटीमा ४ अर्ब २६ करोड ८९ लाख ६३ हजार बजेट रहेकामा ५३ करोड ५५ लाख ६७ हजार रकम फ्रिज भयो ।
बझाङले २८ करोड ५८ लाख ७९ हजार खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङले जनाएको छ । बैतडीबाट ६७ करोड ७३ लाख ३७ हजार फिर्ता गएको छ ।
कञ्चनपुरले ५४ करोड ४७ लाख ४४ हजार रुपैयाँ खर्च गर्न नसकेको बताइएको छ । दार्चुलाले १० दशमलव २४ प्रतिशत बजेट खर्च गर्न नसकेर फिर्ता पठाएको छ ।
केही प्राविधिक कर्मचारीको लापरवाही, जनशक्ति अभाव, समयमै सम्झौता हुन नसक्नु, बर्षातको पानीको प्रभाव, ठेकेदार तथा उपभोक्ताको लापरबाही र बजेट ढिलो निकासा जस्ता कारणले रकम खर्च हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्