
काठमाडौं, वैशाख १३ । राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनले आयोजना गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएको छ ।
चीनको बेइजिङमा आज बिहान सुरु भएको बीआरआई शिखर सम्मेलनमा राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली सहभागी भएको हो । चीनका राष्ट्रपति सी जिनपिङको पहलमा अगाडि बढेको बीआरआई परियोजनामा नेपालले दुई वर्षअघि हस्ताक्षर गरेको थियो । जसअन्र्तगत अहिले नेपालले कनेक्टिभिटी र जलविद्युत्सहित ९ वटा परियोजना प्रस्ताव गरेको छ ।
उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी जिनपिङले बीआरआई परियोजना कार्यान्वयनको चरणमा रहेको र व्यवहारिक सहकार्य हासिल गर्नु यसको उद्देश्य भएको बताए । उनले बीआरआईले विकासशील राष्ट्रका लागि नयाँ अवसर सिर्जना गर्ने र चीनको खुलापन तथा सुधारको क्षेत्रमा नयाँ परिदृष्य खोल्ने बताए ।
चीनले अगाडि सारेको बीआरआई परियोजनामा १५० बढी देश सहभागी छन् । गत वर्ष भएको पहिलो बीआरआई सम्मेलनमा पनि नेपाल सहभागी भएको थियो । बीआरआईप्रति असहमति जनाउँदै आएको भारतले सम्मेलनमा सहभागिता जनाएको छैन । तीन दिनसम्म चल्ने सम्मेलनमा ३७ देशका राष्ट्र तथा सरकार प्रमुख र उच्च नेता सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्