
सर्लाही, वैशाख १३ । दाउरा र इन्धन सहज उपलब्ध नभएपछि सर्लाहीको दक्षिणी ग्रामीण बस्तीका बासिन्दाले अझै परम्परागत गुइँठाको प्रयोग गरेरै खाना पकाउने गरेका छन् ।
नजिकै जंगल नभएका बस्तीमा बासिन्दाले पशुचौपायाको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरेका हुन् । सदरमुकाम मलंगवासहित कौडेना, बलरा, गोडैता, बरहथवा, ब्रह्मपुरी, पर्सा, हरिपुर्वालगायतका स्थानीय तहका अधिकांश बस्तीका परिवारले खाना बनाउन गुइँठाको प्रयोग गर्ने गरेका हुन् ।
बजारक्षेत्र र विकासोन्मुख बस्तीमा एलपी ग्याँस र बिजुलीबाट खाना पकाउने उपकरणको प्रयोग बढे पनि ग्रामीण बस्तीमा भने अहिले पनि गुइँठाकै प्रयोग हुने गरेको हो । पशु चौपायको गोबरको सदुपयोग गर्न गुइँठाको प्रयोग गर्दै आएको स्थानीय बताउँछन् ।
गुइँठा बालेर निस्किएको खरानी बालीनालीमा छर्दा किराको प्रकोप पनि कम हुने उनीहरुको भनाइ छ । निरन्तर झरी पर्ने बर्षायाममा गुइँठाको उपयोग झन् बढी हुन्छ । चामल, दाल जसरी नै गुइँठा पनि सुरक्षितसँग राख्ने र वर्षायामको झरीमा यही बालेर खाजाखाना बनाउने गरेको उनीहरु बताउँछन् ।
दाउराको अभावमा दक्षिणी ग्रामीण बस्तीमा मानिसको शव जलाउनसमेत गुइँठाको प्रयोग हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्