
काठमाडौं, साउन ६ । विहीबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका–संसद बैठक अझै बस्न सकेको छैन ।
कार्यसूचीमा अविश्वासको प्रस्ताव रहेपनि कुनलाई अघि बढाउने भन्नेमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रबीच विवाद कायमै रहेपछि बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
तर, सभामुख ओनसरी घर्ती र शीर्ष नेताहरुबीच जारी छलफलमा सहमति जुट्न नसकेपछि दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।
यसअघि नै सभामुखले बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने गरी कार्यसूची तय गरिसकेकी छन् ।
तर, सत्तारुढ दलहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नै नियमित कार्यसूचीमा रहेको आर्थिक विधेयकमा छलफल गरिनुपर्ने अडान राखेका छन् ।
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस र माओवादी केन्द्र पहिले अविश्वासको प्रस्तावमाथि छलफल गराउनुपर्ने अडानमा छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि यी तीन दलबीच राजनीतिक ध्रुवीकरण बढेको हो ।
प्रतिक्रिया दिनुहोस्