१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


हवाईजहाज कुर्दाकुर्दै सुत्केरी भए दुई महिला


0
Shares

डोल्पा, साउन ६ । डोल्पामा यातायातको एकमात्र साधनकारुपमा रहेको जुफाल विमानस्थलमा हवाईजहाज कुर्दाकुर्दै दुई महिला सुत्केरी भएका छन् ।

सुरक्षित प्रसूति गराउन जिल्लाबाहिर जानलाई हवाईजहाज पर्खे पनि मौसम गडबडीका कारण पाँच दिनदेखि डोल्पामा उडान नभएपछि सुत्केरी भएको तारा एअर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिए ।

सुत्केरी हुनेमा विमानस्थल सुरक्षामा खटिएकी महिला प्रहरी बाँके जिल्ला राप्तीपारिकी जुगेनी चौधरी र डोल्पा त्रिपुराकोट घर भइ बाँके जिल्लामा विवाह गरेकी सीता थापा रहेको बताइएको छ ।

थापालाई ३ गते सुरक्षित प्रसूति गर्न नेपालगन्ज लैजानका लागि विमानस्थल ल्याएपनि उडान नभएपछि फर्काइएको उनका श्रीमान्ले बताए । उनको ४ गते सुरक्षित प्रसूतिपछि छोरा जन्मिएको श्रीमान्ले बताए ।

‘यदि स्वास्थ्य अवस्था गम्भीर भए प्लेन कुर्दै ज्यान जाने थियो, दुर्गम भनेको यस्तै हुँदोरैछ’–उनका श्रीमान्ले भने ।

चौधरीले पनि नेपालगन्ज जानका लागि चार दिनदेखि हवाईजहाज पर्खिएपनि उडान नभएपछि बिहीबार डोल्पामै प्रसूति भएको बताइएको छ ।

मौसम खराबीका कारण विहीबार पनि डोल्पामा उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।

डोल्पामा यातायातको अभावमा हवाईजहाजको पर्खाइमा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीयबासी लोकेश खत्रीले बताए । रासस