२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


सरकार टिकाउन उपेन्द्र यादवलाई ५२ करोडको प्रलोभन दिइएको छैन : एमाले


0
Shares

                                                                   फाइल फोटो

काठमाडौं, साउन ६ । नेकपा एमालेले सरकार बचाउन आफ्नो तर्फबाट आन्दोलनरत् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आर्थिक प्रलोभनको प्रस्ताव गरेको भन्ने समाचारको खन्डन गरेको छ ।

एक अनलाइनले ‘सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन नगरिदिन महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यादवलाई रु ५२ करोड प्रस्ताव गरेको’ भनेर सम्प्रेषण गरेको समाचार कपोलकल्पित भएको एमालेले जनाएको छ ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले विहीबार एक विज्ञप्ति प्रकाशन गरी ‘सरकारको बचाउकानिम्ति आर्थिक त परै जाओस्, सो दलसँग राजनीतिक सहयोगको कुरासमेत नभएको’ स्पस्ट पारेका छन् ।

‘मधेसी मोर्चा वा संघीय गठबन्धनसँग संविधानकै कार्यान्वयनका प्रश्नमा अनेकन असमझदारी छन्, ती असमझदारी कायम राखेर सरकार बनाउने वा टिकाउने कार्यमा ती दलहरुलाई सामेल गर्ने कुरा सम्भव छैन’– विज्ञप्तिमा भनिएको छ ।

उहाँले आफ्नो पेसागत जिम्मेवारीबोध गर्न र तथ्यहीन समाचार सम्प्रेषण नगर्नसमेत सबै सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको छ । रासस