१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


प्रेरणा शाह–पूर्वराजा वीरेन्द्र जग्गाबारेको विषय फेरि खोतलिँदै


0
Shares

काठमाडौं, साउन ६ । छाउनीस्थित १५ रोपनी जमिन प्रेरणा शाहको नाममा दिनू भन्ने पूर्वफैसलामाथि पुनरावलोकनको माग गर्दै नेपाल ट्रष्टको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले २०७२ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल ट्रष्टको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका नाममा सो फैसला गरेको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलको अध्यक्षतामा हालै बसेको नेपाल ट्रष्टको कार्यालयको ३९औं बैठकको निर्णयानुसार ट्रष्टका सचिव भीमप्रसाद उपाध्यायले सो फैसलामाथि पुनरावलोकनको माग गर्दै विहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयले पनि सो फैसलामाथि पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गराउने तयारी गरिरहेको बुझिएको छ ।

सचिव उपाध्यायकाअनुसार स्व. राजा वीरेन्द्रका नाममा रहेको सो जमिन वि.सं. २०६७ मै ट्रष्टका नाममा आइसकेको थियो ।

पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले आफूलाई बुबाबाट सो जग्गा दान दिएको भन्दै जग्गाप्राप्ति गरिपाउँ भनी सर्वोच्चमा रिट दिएकी थिइन् ।

सर्वोच्च अदालतले वि.सं. २०७२ असोजमा सो जमिन प्रेरणाकै भएको फैसला गर्दै जमिन फिर्ता गर्न सरकारलाई आदेश दिएको थियो ।

हाल सो जग्गाको मूल्य रु एक अर्ब भन्दामाथि रहेको छ ।

नेपाल ट्रष्ट कार्यालयले स्व. राजा वीरेन्द्रका नाममा रहेको जग्गा जमिन, दरबारलाई सोधखोज गरी आफ्नो नाममा ल्याउने काम गरिरहेको छ । रासस