
काठमाडौं, साउन ६ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत केही दिनदेखि अनशसनरत् प्रा.डा. गोविन्द केसीले उठाएको मागलाई तत्काल सम्बोधन गर्न माग गर्दै व्यवस्थापिका–संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेसका सांसदद्वय गगनकुमार थापा र धनराज गुरुङ र नेकपा माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले विहीबार सो प्रस्ताव दर्ता गराएका हुन् ।
दर्ता भएको प्रस्तावमा विगत ११ दिनदेखि आमरण अनशनरत् डा. केसीको जीवनरक्षाका लागि संसदले अविलम्ब पहल गर्न अपरिहार्य भएको, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षाजस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा ब्याप्त भ्रष्टाचार र बेथितीका विषयमा सदनको ध्यान जानुपर्ने उल्लेख छ ।
यस्तै डा. केसीले उठाएका मागबारे विगतमा संसदमासमेत छलफल भएको, संसदीय समितिले निर्देशन दिएको र सरकारले पटक–पटक सम्झौतासमेत गरेकाले ती सम्झौताको कार्यान्वयन भए/नभएको सन्दर्भमा सरकारलाई संसदप्रति जवाफदेही बनाउन आवश्यक देखिएको उल्लेख गरिएको छ ।
यस्तै, सार्वजनिक महत्वको प्रस्तावमा डा. केसीले उठाएको अरु मागको विषयसमेत संसदसँग प्रत्यक्ष जोडिएकाले छलफल गर्न आवश्यक रहेको स्पष्ट पारिएको छ ।
केदारभक्त माथेमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको अवस्था पनि छलफलको विषय रहेको उक्त प्रस्तावमा उल्लेख गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्