२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


दाहाललाई ‘रअ’ र ‘सीआईए’ ले प्रयोग गरेको माओवादी केन्द्रकै नेताको ठोकुवा


0
Shares

काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ ले प्रयोग गरेको खुलासा नेकपा माओवादी केन्द्रकै नेता आरसी न्यौपानेले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न देशीविदेशी चलखेल भइरहेको आरोप लागिरहेका बेला माओवादीकै नेताबाट अध्यक्ष दाहाल नै ‘रअ’ र ‘सीआईए’ को गोटी बनेको ठोकुवा आएको हो ।

माओवादीको महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका नेता न्यौपानेले बिहीबार सामाजिक संजाल ‘फेसबुक’मार्फत दाहाल विदेशी गुप्तचर संस्थाबाट प्रयोग भएको खुलासा गरेका छन् ।

नेता न्यौपानेले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण रोक्न र बाम गठबन्धन टुटाउन अध्यक्ष दाहाललाई प्रयोग गरेको ठोकुवासमेत गरेका छन् ।

‘विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न, बाम गठबन्धन टुटाउन, माओवादी केन्द्रको चीनसँगको बन्दै गइरहेको असल सम्बन्ध ध्वस्त पार्न मात्र प्रचण्डलाई प्रधानमन्त्रीको पासा फालेर ‘रअ’ र ‘सीआईए’ ले माओवादीको टाउकाको मूल्य तोक्ने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रयोग गर्दै यो खेल खेलेको छ,’ नेता न्यौपानेले फेसबुकको आफ्नो पेजमा लेखेका छन् । –राजधानी दैनिकबाट