
काठमाडौं, साउन ७ । सरकारले इन्धनको कारोबार गर्न अनुमति प्रदान गरेका नौ वटा कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
मन्त्रिपरिषदको बुधबारको बैठकले पेट्रोलियम र ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गर्दै सोही नियमन आदेशअनुसार अनुमति दिइएका कम्पनीको इजाजत खारेज गरेको हो ।
इजाजत प्राप्त गरेका यस्ता कम्पनीले भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक गृहकार्य सुरु गरिसकेको अवस्थामा सरकारले एकलौटी रुपमा खारेज गरेको हो ।
मन्त्रिपरिषदको बैठकले हिमालयन इन्टरप्राइजेज, विराट पेट्रोलियम, नेसनल पेट्रोलियम, पेट्रोलिम्याक्स, ट्रान्स हिमालयन कर्पोरेसन, सोनापुर मिनरल आयल, डीडी पेट्रोलियम, मालिका र कविनाश कम्पनीको इजाजतपत्र खारेज गरेको हो । कविनाश, मालिका र पेट्रोलिम्याक्सले ग्यास आपूर्ति गर्न पनि अनुमति पाएका थिए ।
आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा गत असार ११ गते बसेको बैठकले आठवटा कम्पनीलाई नेपाल आयल निगम कै हैसियतमा इन्धन आयात गरी बिक्री वितरण गर्न अनुमति दिइएको थियो । यसैगरी गत वर्ष मालिकालाई अनुमति प्रदान गरिएको थियो ।
आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले बुधबारको मन्त्रिपरिषदको बैठकले नियमन आदेशका आधारमा इजाजत पाएका सबै कम्पनीको अनुमति खारेज गरेको जानकारी दिए । उनले इजाजत खारेजका बारेमा भने केही खुलाएनन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्