२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


संसद बैठक अघि नै सहमति जुटाउने प्रयासमा दलहरु


0
Shares

काठमाडौं, साउन ७ । बजेट आश्रित विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा कुन पहिले अघि बढाउने भन्ने विषयमा विवाद भएपछि प्याकेजमै सहमति खोज्न भन्दै शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु आन्तरिक तथा द्विपक्षीय छलफलमा व्यस्त छन् । नेताहरुले विवादित विषयलाई प्याकेजमै सहमति जुटाउने भन्दै छलफललाई तिव्रता दिएका हुन् ।

दलहरुबीच सहमति जुट्न नसकेपछि हिजो स्थगित गरिएको संसद् बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकअघि नै प्याकेजमै सहमति जुटाउने प्रयासस्वरुप नेताहरुले आन्तरिक छलफल गरिरहेका छन् । पार्टीभित्र छलफल सकिएपछि संसद् बैठक बस्नुअघि संयुक्त बैठकमा बस्ने नेताहरुले बताएका छन् ।

यसअघि हिजो बसेको शीर्ष नेताहरुको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसद्मा अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव गरेका थिए ।

प्रमुख दलहरुबीच सहमति जुटाउँदै संविधान कार्यान्वयनलाई अघि बढाउन प्याकेजमै सहमति गर्नुपर्ने पौडेलको प्रस्ताव सकारात्मक रहेको एमालेले जनाएको छ । आजको शीर्ष नेताहरुको बैठकमा पनि पौडेलको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

सरकार पक्षीय दलहरुले संसदले पास गर्न बाँकी रहेका तीनवटा आश्रित विधेयकलाई पहिले पारित गरेपछि मात्रै अन्य विषयमा छलफल गर्नुपर्ने अडान राखेका छन् । तर, कांग्रेस–माओवादी गठबन्धनले भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले त्यसलाई नै अघि बढाउनुपर्ने अडान राखेका छन् ।