२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


अख्तियार प्रमुख कार्कीलाई सुशासन समितिले बयानका लागि बोलायो


0
Shares

काठमाडौं, साउन ७ । संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बयानका लागि बोलाएको छ ।

शुक्रबार बसेको समितिको बैठकले काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेकोलगायत विषयमा जानकारी लिन अख्तियार प्रमुख कार्की र पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको हो ।

बैठकले प्रमुख आयुक्त कार्की र अख्तियार पदाधिकारीलाई आइतबार समितिको बैठकमा उपस्थित हुन निर्देशन दिएको हो । काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग झन्डै तीन घन्टा चलेको बैठकमा बोल्ने अधिकांश सांसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमेत जोडिएको विषयमा उसैसँग बसेरमात्र निष्कर्षमा पुग्न सकिने बताएपछि अख्तियार प्रमुख र पदाधिकारीलाई बोलाउने निर्णय गरिएको हो ।

छलफलमा कांग्रेस सांसद महेश आचार्य, एनपी साउद, अर्जुननरसिंह केसी, ध्रुव वाग्ले, एमालेका अमर थापा, सुशीला नेपाल, हर्कबोल राई, एमाओवादीका सांसद अमनलाल मोदी, जनकराज जोशी, अनिता परियार, सद्भावना पार्टीका नरसिंह चौधरी, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद साहलगायत अधिकांश सांसदले अख्तियारका पदाधिकारीलाई बोलाउन माग गरेका थिए ।

अख्तियार प्रमुख र पदाधिकारीसँग छलफल गरेपछि छानविन समिति गठन गर्ने÷नगर्ने विषयको टुंगो लाग्ने छ ।

विश्वविद्यालयको परीक्षालगायत चिकित्सा क्षेत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र पदाधिकारीले आफ्नो र आफ्ना नातेदारको निहित स्वार्थका लागि भ्रष्टहरूलाई संरक्षण दिई नांगो हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी १३ दिनदेखि आमरण अनशनमा छन् । चिकित्सा क्षेत्रका विकृति र त्यसमा अख्तियारका प्रमुख कार्की र पदाधिकारीसमेत जोडिएपछि संसदको सुशासन तथा अनुगमन समितिले त्यस सम्बन्धमा बुझ्न काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई छलफलमा बोलाएको थियो ।

नेपाली कांग्रेसका गगन थापासहित तीन जना सांसदले समितिमा लिखित रूपमै ध्यानाकर्षण गराएपछि समितिले काठमाडौं विश्वविद्यालयलाई बोलाएको हो । अनसन बसेका केसीको स्वास्थ्य संकटतर्फ उन्मुख भएपछि थापासहित कांग्रेसकै सांसद धनराज गुरुङ र माओवादी सांसद श्याम श्रेष्ठले संयुक्त रुपमा ध्यानाकर्षण गराएका थिए ।

काठमाडौं विश्वविद्यालयको गत जेठ १५ गते हुने प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको थियो । त्यससँगै चिकित्सा क्षेत्रमा अख्तियारले चौतर्फी रुपमा हस्तक्षेप गर्ने गरेको आरोप अनशनरत चिकित्सक गोविन्द केसीको छ ।