
सन्दीप पौड्याल (इमेज)
काठमाडौं, साउन ७ । गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ नेपाल)लाई चुनावी माहोलले तताएको छ ।
यही साउन १६ गते हुने महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिने बढेका छन् । चुनाव नजिकिएसँगै उम्मेदवारीको घोषणा गर्नेसमेत बढेका छन् ।
हालसम्म अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा वर्तमान उपाध्यक्ष दामोदर दाहाल, वर्तमान महासचिव राजकुमार थापा, ध्रुव सिंखडा र कमल सापकोटा छन् ।
त्यस्तै, उपाध्यक्षमा हालसम्म कसैको नाम परेको छैन । यो पदमा सर्वसम्मति हुने सम्भावना बताइएको छ ।
महासचिवमा उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कोषाध्यक्ष दीपक खनाल, बासु पाण्डे र गगनराज न्यौपाने छन् ।
अरु पदका लागिसमेत प्रतिस्पर्धा तीव्र रहेको वर्तमान अध्यक्ष चित्रबहादुर गुरुङले बताए ।
भिटोफले सर्वसम्मतिबाटै कार्यसमिति चयन गर्ने पहलसमेत गर्ने जनाएको छ ।
हालसम्म अध्यक्ष पदका लागि चारजनाको नाम आएपनि वर्तमान महासचिव राजकुमार थापा भने बलिया उम्मेदवारकारुपमा देखिएका छन् ।
‘जय पर्यटन, जय भिटोफ’को नारा लिएर चुनावी मैदानमा ओर्लिएका थापासँग लामो समयको अनुभवसमेत रहेको छ ।
आफू गाउँ पर्यटन विकासको लागि सदैव लागि परेको भन्दै थापाले स्थानीय जनताको हौसला र समर्थन प्राप्त भएकै कारण अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) २०१४ सालमा स्थापना भएको संस्था हो ।
भिटोफले गाउँमा देखिएका सम्भावित पर्यटकीय आकर्षणहरुलाई प्रर्बद्धन गर्ने गर्छ ।
भिटोफको साउन १६ गते हुने चुनावले नयाँ कार्यसमिति चयन गर्नेछ ।
अन्तिम उम्मेदवारी दर्ता भने साउन १५ गतेसम्म रहने महासचिवका उम्मेदवार गगनराज न्यौपानेले इमेजखबरलाई जानकारी दिए ।
भिटोफमा पाँच सयभन्दा बढी सदस्य रहेका छन् । उनीहरु सबैले महाधिवेशनमा मतदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्