२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


‘मौका मिलेमा भित्तामा पुर्‍याउने सोच नराखौं’, दाहालले संसदमा के–के भने ?


0
Shares

                                                                            फाइल फोटो

काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने भएकाले आफैंले निर्वाचित गराएका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुपरेको बताएका छन् ।

उनले संविधान बनाउन राष्ट्रिय सहमतिको आवश्यकता बोध गरी १६ बुँदे सहमति भएको स्मरण गराउँदै संविधान जारीपछि ‘भद्र सहमति’का आधारमा सहमतिको सरकार बन्न नसकेको उल्लेख गर्दै नेपाली राजनीतिमा अब भद्र सहमतिको कुरा नगर्दा पनि हुने तर्क गरे ।

अध्यक्ष दाहालले ओलीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रिय एकता र राष्ट्रिय सहमति हुन सकोस् भन्ने अपेक्षा गरिएको र अहिले अविश्वासको प्रस्ताव ल्याउँदा पनि सोही मान्यताबाट अघि बढेको स्पस्ट गर्दै ‘विश्वास र अविश्वासको मत, सरकार बन्ने, भत्किने स्वाभाविक प्रक्रिया हो, यसखालको नियम हामीले पनि सिक्यौं’–भने ।

उनले भने–‘हरेक पार्टीका आफ्ना मान्यता र वर्चस्व राख्न चाहने अवस्था हुन्छ । यसलाई खेलको नियमकारुपमा बुझ्नुपर्छ । राष्ट्रका समस्या समाधान गर्न र राष्ट्रिय एकताका लागि सामूहिक सहकार्य हुन आवश्यक छ ।’

नेपालको विद्यमान राजनीतिक प्रक्रियामा आफ्नो पार्टी भिन्न परिवेशबाट आएकाले शान्ति–प्रक्रिया कसरी अन्तिम निष्कर्षमा पुग्छ भन्ने चिन्ता आफूमा रहेको र मधेस तथा थारुवानमा अहिले पनि देखिएका समस्या समाधान गर्नु चुनौतीको विषय बनेको जनाउँदै त्यसबारे सत्तारुढ दलका बीचमा पनि कुरा राख्दै आएको स्मरण गराए ।

प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै व्यक्तिगत् कटुता नरहेको भन्दै उनले सरकारका ९ महिनाको कार्यकालमा काम गर्ने शैली र तरिकामा आफूहरुकाबीचमा गम्भीर अन्तर रहेको पाएको जनाए ।

भूकम्पपछिको पुनःनिर्माण, नाकाबन्दीको अन्त्य र मधेस आन्दोलनलाई हेर्ने विषयमा देखिएका भिन्नताले प्रधानमन्त्रीले माओवादी केन्द्रलाई उपयोगमात्र गरी कमजोर पार्दै लाने ‘इगो सेन्ट्रिक’ र ‘सेल्फ सेन्ट्रिक’ कार्यशैली देखाएको आरोप लगाए ।

प्रधानमन्त्रीको शैली एकल सरकारको जस्तो, अहंकार र दम्भयुक्त देखिएको टिप्पणी गर्दै उनले संयुक्त सरकारको मान्यता नभइ अरुको क्षमतालाई अवमूल्यन गर्ने खालको भएको जिकिर गरे ।

‘आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्ने प्रगतिशील राष्ट्रियताभन्दा पनि निश्चित वर्गको राष्ट्रियताको वकालत गर्ने अवस्था देखापर्‍यो’–अध्यक्ष दाहालले भने–‘तर सरकारको नेतृत्वमा त्यस्तो देखिएन । नेपालको भू–राजनीतिक अवस्था बुझेर सबै वर्गका समस्यालाई कसरी समाधान गर्नेभन्दा पनि ‘इरिटेसन’ गर्नेखालको अवस्था भयो ।’

आफूले एउटै कम्युनिस्ट केन्द्र स्थापनाको लक्ष्य लिएपनि ओलीले केवल माओवादी सरकारमा रहे पनि नरहे पनि सकिन्छ भन्ने सोच राखेको पाइएको तर्क गर्दै पछिल्लो ९ बुँदे सहमति र भद्र सहमतिको कार्यान्वयनमा इमानदारी नदेखिएपछि अविश्वासको स्थिति बनेको बताए ।

आफूले वर्तमान गठबन्धन तोडिहाल्ने इच्छा नरहेपनि प्रधानमन्त्री ओलीले अन्तिम वार्तामा ‘कि आफूले एक्सन लिने या माओवादी केन्द्रलाई एक्सन लेओस्’ भनेपछि गठबन्धनमा असझदारी भएको बताए ।

अध्यक्ष दाहालले नयाँ ढंगले जान आफूलाई धकेलिएर बाध्यतामा पु¥याइएको भन्दै फेरिपनि आफूहरु संवाद र सहमतिमै जान चाहेको स्पस्ट गरे ।

उनले हिजो विस्तृत् शान्ति–सम्झौतादेखिका प्रमुख दल यो वा त्योरुपमा मिलेर जानुपर्नेमा जोड दिए ।

ठूला दल भएर हिजो आफूहरुले सबै खान खोज्दा (धर्तीमा खुट्टा नटेक्दा) हातमा केही नरहेको स्मरण गर्दै बिस्तारै आजका ठूलो दलको भोलि त्यही हालत हुन सक्नेतर्फ चिन्ता व्यक्त गरे ।

नेकपा एमालेसँग पनि मिल्नाको विकल्प नभएको आग्रह गर्दै उनले ‘आत्मसमीक्षा गरेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्न आवश्यक छ’–भने ।

उनले भने–‘अविश्वासको प्रस्तावले राष्ट्रिय सहमतिलाई बाधा पार्ने छैन, नेपाली कांग्रेससँगको सहमतिमा पनि त्यो मर्म उल्लेख गरिएको छ ।’

भूराजनीतिक अवस्थाले छिमेकीसँग सन्तुलन कायम गरेरमात्र नेपालको राष्ट्रिय अक्षुण्णतालाई कायम राख्न सकिने भनाइ उनले राखे ।

उनले भने–‘खोलो तर्‍यो, लौरो बिर्सियो नगरौं । एमालेका माधवकुमार नेपाल र झलनाथ खनाललाई मेरै पहलमा प्रधानमन्त्री बनाएको हो । तर, थोरै मौका मिलेमा भित्तामा पुर्‍याउने सोच नराखौं ।’

अध्यक्ष दाहालले नयाँ सरकार गठनको प्रक्रियाका लागि अन्तरिम संविधानको धारा ३८ र अहिलेको संविधानको धारा २९८ (१) बाहेक अरु सबै उस्तै रहेकाले प्रधानमन्त्री हट्ने व्यवस्था छ तर सरकार बनाउने व्यवस्था छैन भन्नु ‘दिउँसै रात पार्नु हो’ भने ।

अविश्वासको प्रस्तावमाथिको छलफल जारी छ । रासस