१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


‘दुई लाखले जग्गा किनेर नयाँ ठाउँमा घर बनाउन सकिएन’


0
Shares

धादिङ, वैशाख १२ । विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखालगायतका आसपासका जिल्लामा सबैभन्दा बढी क्षति पुगेको थियो ।

खासगरी ग्रामीण क्षेत्रका बस्तीहरु गर्ल्याम–गुर्लुम ढलेपछि बितेको चार वर्ष कस्टकर र पीडादायी अवस्थामा गुज्रिएको छ ।

भूकम्पले उजाड बनेका बस्तीहरुमा नयाँ आशाका किरण पलाउन थाले पनि कतिपयको अवस्था भने अझै दयनीय नै छ ।

भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको सिन्धुपाल्चोकमा निजी आवास तथा संरचना निर्माणको काम उत्साहजनकरुपमा भएको छ ।

८८ हजार २४९ निजी आवास क्षतिग्रस्त भएकामा अहिले ६१ हजार ४०० घरको निर्माण सम्पन्न भइसकेको छ । अरु १७ हजार घरहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

भूकम्प अतिप्रभावित नुवाकोटमा ७६ हजारको हारहारीमा निजी घर क्षतिग्रस्त भएकामा ४३ हजार घर निर्माण सम्पन्न भइसकेको छ भने १९ हजार घर निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

नुवाकोटको बहुचर्चित साततले दरबार भने अहिले टेकोको आडमा अडिएको छ । दरबार पुनःनिर्माणमा व्यापक ढिलाइ भइरहेको छ ।

अर्को जिल्ला धादिङमा ८३ हजार ४१ घरधुरी नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउनका लागि दिने अनुदान पाउने सूचीमा रहेका छन् ।

७४ हजार १५३ घरधुरीले अनुदान लिने सम्झौता गरेकामध्ये ४६ हजार ४२५ घर सम्पन्न भइसकेका छन् । त्यस्तै, १६ हजार घर निर्माणको अन्तिम अवस्थामा पुगेका छन् ।

पहिरोको जोखिमका कारण गाउँमा बस्न नसकिने भन्दै धादिङका ३८८ घरधुरीलाई अन्यत्र सार्नका लागि सिफारिस गरिएको थियो ।

अन्यत्र जग्गा किन्नका लागि भनेर थप दुई लाख दिएपनि दुई लाखले जग्गा किनेर नयाँ ठाउँमा घर बनाउन नसकिएको पीडितहरुको गुनासो छ ।

अर्को अतिप्रभावित जिल्ला रसुवामा भने ७७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भइसकेको छ ।

१२ हजार ४९२ जना लाभग्राही रहेको रसुवामा ९ हजार ६७३ जनाले सुरक्षित आवास निर्माण गरिसकेका छन् ।

त्यस्तै, सडकको पहुँच नपुगेको स्थानमा हेलिकोप्टर तथा खच्चडको प्रयोग गरी निर्माण सामग्री ढुवानी गरेर पुनःनिर्माणको काम गरेका हुन् ।

अधिकांश पीडितहरुले आवास निर्माणको काम अन्तिम चरणमा पुर्‍याएपनि कतिपयको अवस्था भने अझै टिठलाग्दो छ ।

रसुवाबाट मनिता कोइराला, सिन्धुपाल्चोकबाट विजय नेपाल र नुवाकोटबाट सुजित भण्डारीका साथ नवराज छत्कुल्ली धादिङ ।

भिडियो हेर्नुहोस्