२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’ पार्टी हो : भट्टराई


0
Shares

                                                              फाइल फोटो

काठमाडौं, साउन ८ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन ‘जगबिनाको गजुर’ भएको जिकिर गरेका छन् ।

एमाले सन्चार इलाकाको विस्तारित बैठकलाई शनिबार राजधानीमा सम्बोधन गर्दै पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर वर्तमान सरकार ढाल्ने कार्य सुरु गरेपनि आफ्नो पार्टी त्यसबाट नअत्तालिने स्पस्ट गरे ।

उनले कांग्रेस र माओवादीबीचका भाषा र शैलीकै भिन्नताका कारण उनीहरुको गठबन्धन दिगो हुन नसक्ने टिप्पणी गर्दै अल्पमतमा परिसकेपछि एमाले सशक्त प्रतिपक्षमा बस्न तयार रहेको जनाए ।

उनले भने–‘एमाले लोकतान्त्रिक पार्टी हो, अविश्वासको प्रस्ताव आइसकेपछि सरकारमा रहँदैन भन्ने हामीलाई थाहा छ । नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टताबारे हामीलाई चिन्ता छैन । त्यसमा केही समस्या भएमा राष्ट्रपति वा सर्वाेच्च अदालतबाट फुकाउने काम होला । हामी कतै गुहार्न जाँदैनौं । एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’ पार्टी हो । त्यही स्थानमा हामी बस्न तयार छौं ।’

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल, चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ र राजेन्द्र अर्याल, उपत्यका पेसागत बुद्धिजीवी जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुलीको पनि भेलामा सहभागिता थियो ।

इलाका अध्यक्ष टंक पन्तले आगामी भदौ ४ गते इलाका अधिवेशन गरिने जानकारी दिए । रासस