२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


‘कांग्रेस–माओवादीको अब बन्ने सरकार १०० दिनको हनिमुनसम्मका लागिमात्रै’


0
Shares

                                                                    फाइल फोटो

भक्तपुर, साउन ८ । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा अब बन्ने सरकार १०० दिनको हनिमुनसम्मका लागिमात्रै भएको जिकिर गरेका छन् ।

नेपाल खेलकुद महासंघ भक्तपुरले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक एवं संवैधानिक जटिलता र यसको निकास’ विषयको अन्तरक्रियामा उनले कांग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धन मुलुकको हितमा नभएको विचार व्यक्त गरे ।

अब बन्ने सरकारले आगामी २०७४ भित्र संसदीय चुनाव नगरी सरकार लम्ब्याउन षड्यन्त्र गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुँदै एमालेले नयाँ रणनीतिकासाथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपालको संविधानमा सरकार विघटन गर्ने व्यवस्था भएपनि नयाँ सरकार बनाउने व्यवस्था नभएको जिकिर गरे ।

उनले नयाँ सरकार गठन गर्न संविधान संशोधन गरेर जानसके दीर्घकालीन समाधान हुने बताउँदै अन्यथा यो समस्या अर्को सरकार गठन हुँदा पनि आउने बताए ।

खेलकुद महासंघ भक्तपुरका अध्यक्ष दिलीप केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, एमाले जिल्ला सचिव हरिशरण लामिछाने, राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं महासंघका कार्यबहाक महासचिव राजेन्द्र श्रेष्ठलगायतले देशमा आएको राजनीतिक संकट हटाउन दलहरुबीच सहमति हुनैपर्नेमा जोड दिए । रासस