
फाइल फोटो
काठमाडौं, साउन ८ । नेकपा एमालेका नेता एवं सांसद बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिनका लागि आफूले धेरै प्रयत्न गरेको शनिबार सदनलाई जानकारी दिएका छन् ।
उनले भने–‘मलाई साँच्चिकै अप्ठेरो लागिरहेको छ, प्रस्ताव पार्टीको अध्यक्षकाविरुद्धमा छ, प्रस्तावमा घनिष्ठ मित्रले पहिलो हस्ताक्षर गर्नुभएको छ, मित्रलाई सधैं सही सल्लाह दिँदै आएको छु ।’
माओावादी नेतालाई मृत्युको मुखबाट बचाउन आफूले धेरै भूमिका खेलेको स्मरण गराउँदै उनले दर्ता भएको अविश्वासको प्रस्तावमा भएका बुँदाले माओवादीप्रतिको आफ्नो विश्वासनीयतालाई कमजोर तुल्याएको बताए ।
नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीले संविधानको नायककारुपमा उभ्याइएका संविधानसभाका तत्कालीन अध्यक्षले संविधानको अपव्याख्या गरेर सार्वभौम संसदलाई तर्साउने काम गरेको भनी आलोचना गरे ।
उनले भने–‘अझैपनि नयाँ सरकार गठनको कुरालाई शंकाको दृष्टिकोणबाट हेर्ने प्रवृत्तिबाट राजनीतिक संक्रमणले निकास पाउन सक्दैन ।’
सोही पार्टीका रामनारायण बिंडारीले ‘संविधानको व्याख्या एउटा उपधारा र धारा हेरेरमात्र होइन, संविधानका सिद्धान्त र भावनाका आधारमा हुनुपर्छ’ भन्दै नेपालको संविधानको धारा २९८ नयाँ सरकार गठनलाई पूर्ण रहेको धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालले मधेसीलाई विदेशी देखेर राष्ट्रभक्ति हुन सक्दैन भन्ने कुरालाई एमालेलगायत सरकारमा रहेका राजनीतिक दलले बुझ्न आवश्यक रहेको बताए ।
बैठकमा प्रभु साह, धर्मेन्द्र साह तेली, लोकमणि ढकाल र गंगा चौधरी सत्गौवाले प्रधानमन्त्री ओलीको व्यक्तिगत् दम्भले अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारिएको धारणा राखे ।
सत्तारुढ दल एमालेका डा. राजन भट्टराई र पशुपति चौलागाइँले भने ‘वर्तमान सरकारले माओवादी द्वन्द्वका समयमा गठन भएको जनसरकारले गरेको निर्णय कार्यान्वयन गरेन भनेर प्रधानमन्त्रीविरुद्धमा अविश्वासको प्रस्ताव ल्याइएको हो ?’ भनी प्रश्न गरे ।
नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले ‘सरकार सन्चालनको उच्चस्तरीय संयन्त्रको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका अध्यक्षले अविश्वासको प्रस्ताव प्रस्तुत् गर्नुपर्नेको औचित्य पुष्टि गर्न आवश्यक छ’–भने । बैठक जारी छ । रासस
प्रतिक्रिया दिनुहोस्