२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


संविधानको एउटा धाराको अपव्याख्याले हिटलरको जन्म भएको थियो : प्रदीप गिरी


0
Shares

                                                                  फाइल फोटो
काठमाडौं, साउन ८ । प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि सदनमा भइरहेको छलफलमा शनिबार सांसदहरुले स्पस्टरुपमा दुई कित्तामा विभाजन भइ आफ्ना भनाइ प्रस्तुत् गरे ।

सत्तापक्षका सांसदहरुले प्रधानमन्त्रीविरुद्धमा प्रतिपक्षले ल्याएको अविश्वासको प्रस्तावको कटाक्ष गर्दै सरकारको लोकप्रियतालाई निस्तेज तुल्याउने एकमात्र उद्देश्य राखेर ल्याइएको प्रस्तावले मुलुकलाई थप बर्बादीतर्फ धकेल्ने चेतावनी दिए ।

जनआन्दोलनको उपलब्धिकारुपमा रहेको संघीयता, गणतन्त्र र संविधान कार्यान्वयनको विषयमा एकाकार भएर अघि बढ्नुपर्नेबेलामा नितान्त सरकार परिवर्तन गर्ने खेलमा मुलुकका ठूला राजनीतिक दल लाग्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै उनीहरुले भूकम्पपीडितको भावना र आकांक्षालाई पूरा गरेर आन्तरिक राष्ट्रवादलाई बलियो तुल्याउनेबेलामा सरकार ढाल्ने फोहोरी खेललाई शान्ति र विकासप्रेमी नेपाली जनताले कदापि सहन नसक्ने चेतावनी दिए ।

प्रस्तावको पक्षधर सांसदहरुले भने ‘प्रधानमन्त्रीको दम्भ र अहंकारले अविश्वासको प्रस्ताव ल्याउन बाध्य बनाएको जिकिर गर्दै सरकार गठनको व्यवस्था नेपालको संविधानमा छैन भन्ने तर्कले सदनको गरिमा नै घटाएको छ’–भने ।

उनीहरुले भने–‘सत्तारुढ एउटा घटकले केही गर्दा पनि जनताको हितमा काम गर्न सकेनौं भनेर बाहिर गइसकेपछि संसदबाट हुने फैसला स्वीकार गर्नुको साटो अझै सत्तामा टिक्न बाहिर सल्लाह खोज्नु र राष्ट्रपतिलाई विवादमा ल्याउन प्रयत्न गर्नु ठीक होइन ।’

‘संघीयताविरोधीलाई काखी च्यापेर आन्दोलनको सहयात्रीलाई टाढा देख्ने प्रवृत्तिले प्रधानमन्त्रीको संघीयता, गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न खडा गरेको बताउँदै उनीहरुले भने–‘मुलुकलाई अहिले राष्ट्रिय एकताको खाँचो छ । नेपालमा लोकतन्त्र आएको भनिएपनि नेतातन्त्र नै हावी रहेको छ । मुलुकभित्र शंका बढाएर होइन, कम्तीमा पनि नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच सहमतिको खाँचो छ ।’

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले संविधानसभाले बनाएको संविधानले सबैथोक गर्न सक्छ तर प्रधानमन्त्री चयन गर्न सक्दैन भन्नु एउटा पक्षको वकिलको तर्कमात्र हुने बताउँदै अहिलेको संविधानले नयाँ प्रधानमन्त्री दिन सक्षम भएको बताए ।

संविधानको एउटा धाराको अपव्याख्याले हिटलरको जन्म भएको घटना सुनाउँदै उनले ‘संसदले नयाँ प्रधानमन्त्रीको चयन गर्न नसक्ने व्याख्याले संविधान घोषणा हुँदा किन तत्कालीन अध्यक्ष बोल्नुभएन ?’ भनी प्रश्न गरे ।

शनिबारको बैठकमा सांसद महेन्द्र यादव, रवीन्द्र अधिकारी, दुर्गा पौडेल, रामहरि खतिवडा, कमल पंगेनी, अफिलाल अखेडा, सुरेन्द्र चौधरी, भरतकुमार शाह, अब्दुर रज्जाक गद्दी, डा. अमरेशकुमार सिंहलगायतले दलीय अवधारणाका आधारमा अविश्वासको पक्ष तथा विपक्षमा आ–आफ्ना तर्क प्रस्तुत् गरे ।

प्रधानमन्त्रीविरुद्ध सदनमा पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफल आइतबार पनि जारी नै रहनेछ ।

व्यवस्थापिका–संसदको अर्काे बैठक आइतबार बिहान ११ बजे बस्नेछ । रासस