२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्ताव आज छिनोफानो हुँदै


0
Shares

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको टुंगो आज लगाइदैछ ।

बिहान ११ बजे बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि अविश्वास प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।

अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

अविश्वासको प्रस्तावमा पक्ष र विपक्षमा मतदान हुनेछ । अविश्वास प्रस्ताव पारित हुन २९८ मत आवश्यक पर्छ ।

अविश्वास प्रस्ताव पेश गरेका कांग्रेस र नेकपा माओवादी केन्द्रलाई आन्दोलनरत मधेसी मोर्चाले साथ दिएका तथा फोरम लोकतान्त्रिक र राप्रपाले समेत अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेकाले प्रस्ताव सजिलै पारित हुने निश्चित देखिन्छ ।

तर अविश्वास प्रस्ताव पारित भएपनि नयाँ सरकार गठन कसरी गर्ने भन्ने प्रक्रियाका विषयमा दलहरुबीच विवाद देखिएको छ ।

संविधानको धारा २९८ मा संविधान जारीपछि गठित सरकार ढलेमा नयाँ सरकार गठन हुने स्पष्ट व्यवस्था नभएको भन्ने तर्क सत्तारुढ एमालेका नेता र एमालेनिकट कानून व्यवसायीले गर्दै आएका छन् ।

यसका लागि प्रमुख दल मिलेर संविधान संशोधन गर्नुपर्ने वा राष्ट्रपतिबाट संविधानको बाधा अड्काउ फुकाउको आदेश जारी हुनुपर्ने तर्क उनीहरुको छ ।

तर एमालेकै केही नेता भने प्रधानमन्त्रीविरुद्ध संसदले अविश्वास प्रस्ताव पारित गरिसकेपछि संविधान र कानूनको बहानामा बखेडा निकाल्नेभन्दा राजनीतिक निकास दिनुपर्ने बताउँदै आएका छन् ।

संसदीय व्यवस्थामा संसदले प्रधानमन्त्रीविरुद्ध प्रस्ताव पारित गरिसकेपछि नयाँ प्रधानमन्त्री बन्न कुनै संवैधानिक अड्चन नरहने अरु संविधानविदको धारणा रहेको छ ।