
मस्को, वैशाख १२ । उत्तर कोरियाका नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आपसी सम्बन्ध थप मजबुद बनाउन इच्छुक देखिएका छन् ।
रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा उनीहरुबीच भएको पहिलो भेटमा यस्तो इच्छा देखिएको हो । रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायद्विपको शान्ति आफ्नो चाहना रहेको बताए । उत्तर कोरियाली नेता किमले दुईपक्षीय सम्बन्ध सुधार्ने विषयमा ठोस ढङ्गले कुराकानी हुने आशा व्यक्त गरेका छन् । दुई मुलुकबीचको ऐतिहासिक र असल सम्बन्धको आधारमा रुसी राष्ट्रपतिसँग उपयोगी वार्ता हुने उनको विश्वास छ ।
क्रेमलिनले शिखरवार्तामा निशस्त्रीकरणको विषयमा छलफल हुने जनाएको छ । तर किमले अमेरिकासँग वार्ता विफल भएपछि रुसको समर्थन खोज्ने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत वर्ष हनोइमा भएको दोस्रो शिखर वार्ता कुनै सहमतिमा नपुगी टुंगिएको थियो ।
रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले क्रेमलिन उत्तर कोरियाको विषयमा ६ पक्षीय वार्ता फेरि सुरु हुनुपर्ने पक्षमा रहेको जनाएका छन् । अवरुद्ध वार्ता फेरि शुरु गरि कोरियाली प्रायद्विपको परमाणुअस्त्रको विवाद सम्बोधन गर्न सकिने क्रेमलिनको विश्वास छ ।
अमेरिकासँग सम्बन्ध चिसिएपछि उत्तर कोरियाले अरु राष्ट्रसँग पनि आफ्नो सम्बन्ध राम्रो रहेको देखाउन खोजिरहेको छ । रुसका लागि भने उत्तर कोरियासँगको वार्ता कोरियाली प्रायद्विपमा आफ्नो प्रभाव कायमै रहेको देखाउने अवसर ठानिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्