२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाढीका कारण झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित


0
Shares

झापा, साउन १० । अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

झापामा आज भने केही मात्रामा वर्षा रोकिएको छ । मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ९७:४० मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षापछि आएको बाढीले विस्थापित हुनेहरुको विवरण सङ्कलन गर्ने काम भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

बाढीबाट हजारौँ मानिस प्रभावित भएको जनाइएको छ । विस्थापित भएकालाई राहत वितरण कार्य भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् ।

झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवालगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन् । बाढीका कारण के कति आर्थिक क्षति भयो सोको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए ।

यहाँ सबैभन्दा बढी ९७।४० मिलिमिटर वर्षा भएको कनकाई वर्षा मापन केन्द्रबाट जानकारी प्राप्त भएको छ । रासस