Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


बाढीले चारैतिर घेरिएपछि डेढ सय घर–परिवार सम्पर्कविहीन


0
Shares

सप्तरी, साउन १० । सप्तकोसी नदीमा आएको बाढीले चारैतिर घेरिएपछि सप्तरीको हनुमाननगर योगिनियामाइ नगरपालिकाको गोबरगाढा गाउँका करिब डेढ सय घर–परिवार सम्पर्कविहीन भएका छन् ।

सप्तरी प्रहरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले दिएको जानकारीअनुसार हालसम्म उक्त स्थानमा प्रहरी टोली पनि पठाउन सकिएको छैन ।

प्रहरीले सम्पर्क गर्ने प्रयास भने गरिरहेको ढकालले जानकारी दिए ।

करिब ४ सय घर–परिवार रहेको गोबरगाढा गाविसका अधिकांश परिवार वर्षा सुरु भएपछि हनुमाननगर, योगिनियाँ, भारदहलगायतका क्षेत्रमा बसाइँ सर्ने गर्दछन् ।

तर, यो वर्ष भने अधिकांश परिवारले गाउँ छोडे पनि अन्य विकल्प नभएका करिब डेढ सय परिवार अझै त्यही बसेका थिए ।

गोवरगाढाका अधिकांश घर डुवानमा परेका छन् । तर, राहत र पुनःस्थापनाको व्यवस्था हुन नसक्दा बालबालिका र केटाकेटिको बिचल्ली भएको छ ।

यता, जिता, खाँडो, महुली, अमाहा, त्रियुगालगायतका अन्य विभिन्न नदीमा आएको बाढीका कारण रम्पुरा मलहनीयाँ, तिलाठी, सप्तकोसी नगरपालिकाको फत्तेपुर, राजविराज नगरपालिकाको वडा नम्बर–५, ८, १०, कोइलाडी, तोपा, महदेवा, भगवतपुर, बथनाहालगायतका एक दर्जन गाविस दुई दिनदेखि डुबानमा छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले च्युरा मुरी वितरण गरेका तीनओटा गाविसबाहेक अरु गाविसमा हाल खान, बस्न तथा आवत–जावतकोसमेत समस्या छ ।

यता, जीता खोलामा आएको बाढीले बगाएर विराटनगर जतुवाका सुदीपकुमार यादव बेपत्ता छन् ।