२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नयाँ सरकारमा जान ओली सरकार त्यागेका गच्छदार जिल्ल, नयाँ सरकारमा नलगिने


0
Shares

काठमाडौं, साउन ११ । कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् ।

गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भड्किन सक्ने भएकाले कांग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो ।

कांग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउनेमा कांग्रेस र माओवादीसहित १६ दल छन्, जसमा मोर्चा सम्मिलित सात दल छन् । कांग्रेस र माओवादीको प्राथमिकता मधेसी मोर्चालाई नै सरकारमा ल्याउनेमा छ । सुरुकै चरणमा मोर्चा सहभागी नभए पनि पछि आउने विश्वास उनीहरूको छ ।

ओली सरकार हटाउने र नयाँ सरकार बनाउनेमा आफूहरुको मूख्य भूमिका रहेको बताउँदै मोर्चाका नेताहरुले सरकारका कामकारवाहीमा आफूहरुको परामर्श लिन आग्रह गर्दै आएका छन् । –कान्तिपुर दैनिकबाट