
काठमाडौं, वैशाख १२ । द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन न्याय निरुपण सम्बन्धि आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो । मन्त्री ढकाललाई बुझाइएको आयोगको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ ।
हाल पदाधिकारीविहिन रहेको सो आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुले मन्त्री ढकाललाई बुझाएका थिए । चैत्र मसान्तमा आयोगको पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको निमित्त सचिव भट्टराईले जानकारी दिए ।
यता, आयोगको प्रतिवेदन बुझेपछि मन्त्री ढकालले आयोगको काम कारवाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि कागजातको सुरक्षाको उचित व्यवस्था गर्न आयोगका कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्