
काठमाडौं, साउन ११ । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयन गर्न डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन फिलाडेल्फियामा सुरु भएको छ ।
सम्मेलनले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई पार्टीको उम्मेदवार मनोनित गर्ने छ । सम्मेलनमा बोल्दै क्लिन्टनको प्रतिद्वन्द्वी रहिसकेका बर्नी स्यान्डर्सले क्लिन्टन अमेरिकाको आगामी राष्ट्रपति बन्नैपर्ने बताए ।
रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्प एकपछि अर्को गर्दै आलोचना गर्न व्यस्त छन् भन्दै स्यान्डर्सले हिलारी क्लिन्टनले विविधताको शक्तिलाई राम्रोसँग बुझ्ने बताए ।
सम्मेलनमा प्रथम महिला मिचेल ओबामाले क्लिन्टन अमेरिकाको राष्ट्रपति पदका लागि सबैभन्दा उत्कृष्ट उम्मेदवार भएको जिकीर गरिन् ।
स्यान्डर्सका समर्थकहरुले अधिवेशन स्थल बाहिर प्रदर्शन गर्दै उनको विचार र उम्मेदवारीलाई नछोड्ने बताएका थिए । तर स्यान्डर्सले आफ्ना समर्थकहरुसँग क्लिन्टनलाई मत दिन अपील गरिन् ।
सम्मेलनमा क्लिन्टनका धेरै जना समर्थक वक्ताले हुटिङको सामना गर्नुपरेको थियो । चार दिने सम्मेलनमा ५ हजार पार्टी प्रतिनिधि सहित ५० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।
यस्तै १५ हजार सञ्चारकर्मीले सम्मेलनको समाचार संकलन गर्ने छन् । क्लिन्टनलाई आधिकारीक रुपमा पार्टीको राष्ट्रपतीय उम्मेदवार चयन गर्दै सम्मेलन बिहीबार सम्पन्न हुनेछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्