६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


मौरी पालनबाट मालामाल, बार्षीक कति हुन्छ आम्दानी ?(भिडियो हेर्नुहोस)


0
Shares

-मान बहादुर ओली, ईमेज

सुर्खेत, साउन ११ । नेपालमा मौरी पालनको इतिहास लामो छ । मौरीबाट उत्पादित महलाई नेपाली समाजमा धार्मिक रितीरिवाजमा अति आवश्यक वस्तुका रुपमा मानिनुका साथै विभिन्न औषधिका रुपमासमेत प्रयोग हुँदै आएको छ ।

परिवर्तित समयमा मौरीबाट उत्पादित मह रोजगार र आम्दानीको बलियो स्रोतसमेत भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर–११ पदमपुरकी मनिकला सापकोटाले मौरीपालन व्यवसायबाट एक सिजनमा ५० हजार भन्दा बढी आम्दानी गर्छिन् ।

यही व्यवसायबाट उनले आफ्नो पूरै परिवार चलाइरहेकी छिन् । उनले साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान सहयोगबाट मौरी पालन गरिरहेकी हुन् । आयोजनाले भेरी सामुहिक मौरीपालन कृषक समुह मार्फत सहयोग गरेपछि आर्थिक समृद्धि ल्याएको मनीकला सापकोटा बताउँछिन् ।

मनीकला त एक उदाहरण मात्र हुन् । समुहमा बसेका १७ जना सदस्यले अहिले साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान सहयोगबाट मौरीपालन व्यवसाय गरी रहेका छन् ।

आयोजनाले मौरी पालनमा आवश्यक प्राविधिक तालिम दिएपछि कृषकको आकर्षण वढ्दै गएको भेरी सामुहिक मौरीपालन कृषक समुहकी अध्यक्ष पार्वती भण्डारी बताउँछिन् ।

मौरीपालनमा धैरै जनशक्ति र समय दिनु नपर्ने भएकाले यो व्यवसायमा महिलाको आकर्षण बढेको हो । महको माग बढ्दै गएपनि समुहले त्यसको आपूर्ति भने गर्न सकेको छैन ।

समुहमा रहेका सदस्यले प्रति घरमा २० देखि ३५ घारसम्म मौरीका गोला राखेका छन् । बर्षमा एक गोला मौरीबाट १५ देखि २० केजीसम्म मह उत्पादन हुने गरेको छ । मौरी र महबाट कृषकको आम्दानीको बलियो श्रोत भएको मौरीपालक कृषक सुनिता लामिछाने बताउँछिन् ।

कृषिको विकासका लागि सरकारी–नीजि साझेदारीमा सञ्चालित साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले सुर्खेत वीरेन्द्रनगरमा रहेका भेरी सामुहिक मौरीपालन कृषक समुहसँग २ सय मौरी गोलाबाट करिव ३ हजार केजी मह उत्पादन गर्ने लक्ष्य सहित मह उत्पादन उप–आयोजना सञ्चालन गरेको छ ।

करिव २७ लाख लगानीमा सञ्चालित उप–आयोजना पछि १७ जना कृषक परिवारको मह र मौरीघार विक्रीबाट बार्षिक ६० हजार थप आम्दानी वृद्धि भएको छ ।