
फाइल फोटो
सोलुखुम्बु, साउन ११ । एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्णरुपमा अवरुद्ध छ ।
बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका भएपनि उडान अवरुद्ध भइरहेको छ ।
काँगेल विमानस्थल दुई वर्षदेखि बन्द छ भने स्याङ्बोचे विमानस्थलमा पनि फाप्लु र लुक्लाबाटमात्र उडान भइरहेकामा त्यहाँ पनि अवरुद्ध भएको छ ।
यसबेला लुक्ला विमानस्थलमा सबै कम्पनीका गरी दैनिक ५/६ ओटा उडानको तालिका भएपनि मौसम खराबीका कारण स्थगन गर्नुपरेको तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए ।
शेर्पाकाअनुसार उडान नहुँदा २०० भन्दा बढी विदेशी पर्यटक लुक्लामा रोकिएका छन् ।
मौसम खुल्ने आशामा उनीहरु बिहानदेखि विमानस्थलमा आउने र उडान स्थगन भएपछि होटलमा फर्कने गरेको होटल व्यवसायी दोर्जी शेर्पाले बताए ।
सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्केका उनीहरु खर्च अभाव भएको र स्वदेश फर्कने हवाई टिकटको मिति सकिन लागेको भन्दै चिन्तित छन् ।
विमानस्थल अवरुद्ध हुँदा सुर्के–जुभिङ हुँदै सल्लेरीसम्म पैदलयात्रा गरी त्यहाँबाट जिपमार्फत् राजधानी फर्कने विकल्प भएपनि गत असार २२ गते सुर्केमा गएको पहिराका कारण पदमार्ग बगाएकाले पैदलयात्रा गर्न असहज छ ।
यता, फाप्लु विमानस्थलमा पनि उडान नहुँदा विशेष गरी फाप्लु अस्पतालबाट अन्यत्र पठाइएका बिरामी मर्कामा पर्ने गरेका छन् ।
अन्य यात्रुका लागि भने सल्लेरी–काठमाडौं सडकमार्ग सन्चालनमा रहेकाले धेरै असहजता नभएको यात्रु बताउँछन् । रासस
प्रतिक्रिया दिनुहोस्