
प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, साउन ११ । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पबाट देशका विभिन्न क्षेत्रजस्तै उपत्यकाभित्रका पुरातात्विक महत्वका सम्पदामा पनि क्षति पुर्यायो ।
तर, भूकम्पको दुई वर्षसम्म पनि यी सम्पदाको पुनःनिर्माण हुन नसकेपछि युनेस्कोले काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने निर्णय अन्तिम समयमा आएर रोकिएको छ ।
टर्कीको राजधानी स्तानबुलमा असार २६ देखि साउन ५ गतेसम्म चलेको चलेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनोस्को)को विश्वसम्पदासम्बन्धी ४०औं सम्मेलनमा यसपटक नेपालको एजेन्डाले प्रमुखता पायो ।
कारण, भूकम्प गएको दुई वर्षसम्म पनि विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाहरु पुनःनिर्माण हुन नसक्नु नै हो ।
सोही कारणले सम्मेलनमा नेपाललाई खतराको सूचीमा राख्ने प्रस्ताव नेपाली टोलीको विशेष सक्रियताका कारण रोकिएको छ ।
युनेस्कोको ब्युरो कमिटीमा रहेका २१ मध्ये १८ राष्ट्रले नेपालप्रति सहानुभूति देखाएपनि लेवनान, पोल्यान्ड तथा पोर्चुगलले नेपाललाई खतराको सूचीमा राख्नुपर्नेमा जोड दिएका थिए ।
तर, नेपालको पछिल्लो अवस्था, पुनःनिर्माणका लागि आर्थिक स्रोत जुटाउन भैरहेको कठीनाइलगायतका विभिन्न बाध्यताको विषयमा नेपाली टोलीले जानकारी गराएपछि तत्कालका लागि यो खतरा टरेको सम्मेलनमा सहभागी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
त्यसो त उपत्यकाभित्र विश्वसम्पदा सूचीमा सूचीकृत ७ सम्पदा छन् । तर, भूकम्प गएको २ वर्षसम्म पनि अधिकांश सम्पदाको पुनःनिर्माणको काम चित्तबुझ्दो ढंगले अघि बढ्न सकेको छैन ।
तर, विभाग भने सबै सम्पदाको पुनःनिर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको भन्दै कतिपयको काम नै अघि बढेको र केही कठीन कामका लागि थप समय लाग्ने तर्क गर्दछ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्