
काठमाडौं, साउन ११ । अर्थविद्हरुले मुलुकमा नयाँ सरकार आएपनि आर्थिक वर्ष २०७३/०७४ को बजेटमा परिवर्तन गर्न नहुनेमा जोड दिएका छन् ।
मंगलबार राजधानीमा भएको अन्तरक्रियामा सहभागी परिष्ठ अर्थविद्हरुले आगामी दिनमा राजनीतिक दलहरु मिलेर बजेट कार्यान्वयनमा लाग्नुपर्नेमा पनि जोड दिए ।
राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले आश्रित विधेयक ‘फेल’ भएपनि फरक नपर्ने बताएका छन् ।
उनले बजेटको आकार ठूलो हुनु राम्रो हो भन्दै तर खर्च गर्न भने सक्नुपर्ने बताए । उनले मुलुकमा विदेशी सहयोग घटिरहेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले विनियोजन विधेयक ‘पास’ भइसकेको अवस्थामा उठाएको कर फिर्ता गर्न नपर्ने तर्क गरे ।
छिमेकी देश भारतले चीनबाट प्रशस्त लगानी आकर्षित गरिरहेको भन्दै उनले नेपालले पनि चिनियाँ लगानी भित्र्याउनुपर्नेमा जोड दिए ।
अर्थविद डा. विश्वम्भर प्याकुर्यालले देशको अर्थतन्त्रमा अत्यधिक तरलता भएको र त्यसलाई व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र डुब्ने चिन्ता व्यक्त गरे ।
उनले देशलाई आर्थिकरुपमा सबल बनाउन प्रशासनिक संयन्त्र एवं शासकीयस्वरुपमा विशेष सुधार ल्याउनुपर्ने बताए ।
उनले अहिलेको मुख्य समस्या उच्चमूल्यबृद्धि, बेरुजु रकम एवं भ्रष्टाचार रहेको बताउँदै सरकारले यसमा सुधार ल्याउन आवश्यक रहेको बताए ।
उनले भारतमा आउने बजेटको सूक्ष्म अध्ययन आवश्यक रहेको पनि उल्लेख गरे ।
डा. प्याकुर्यालले अब मुलुकमा विस्तारकारी वित्तीय र मौद्रिक नीतिको आवश्यकता रहेको बताउँदै त्यसको कार्यान्वयनमा सरकार लाग्नुपर्ने बताए ।
अर्का अर्थविद् डा. चन्द्रमणि अधिकारीले आश्रित विधेयकहरु पारित नहुँदा प्राविधिकरुपमा खासै ठूलो प्रभाव नपर्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्