२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


प्यूठानमा बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो


0
Shares

सिटी पोखरेल (रासस)

प्यूठान, साउन १२ । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ ।

मंगलबार र बुधबार गरी जिल्लाका विभिन्न ठाँउमा ३८ जनाको मृत्यु भएको जिल्ला प्राशासन कार्यालयले जनाएको छ ।

पहिरोमा परी मंगलबार राति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको घरमाथिबाट आएको पहिरोले पुर्दा मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोमा परी उनकी श्रीमती विन्दुसँगै ज्यान गुमाएका केसी मंगलबार दिनभर पहिरो पीडितको उद्धारमा खटिएको स्थानीयले बताएका छन् ।

पहिरोमा परी अहिलेसम्म सबैभन्दा धेरै फोप्लीमा मानवीय क्षति भएको छ । फोप्ली गाविसको ३, ४ र ६ वडामामात्रै १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फोप्ली–३ का चेतमान पुन, शेरबहादुर पुन, फोप्ली–४ मा एक बालिका र एक बालकको ज्यान गएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, फोप्ली–६ का नारायण केसी, दोर्णबहादुर केसी र पवित्रा केसीको मृत्यु भएको छ ।

घर पहिरोमा परी फोप्ली–३ मा मनिराम पुन, तेजे पुन र खरेली पुनको मृत्यु भएको छ ।

त्यस्तै फोप्ली–६ मा हरिबहादुर केसी, उनकी श्रीमती विन्दु केसी, जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्र अर्खामा भएको घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्खा–६ का ५२ वर्षीय देवबहादुर बुढा, हिमाल बुढा र जवुना बुढा रहेका छन् ।

त्यस्तै, माजकोट गाविसकी जाली पुन र एक पुरुष तथा एक महिलाको पहिचान हुन सकेको छैन ।

त्यस्तै, खवाङ–७ मा दिलमाया केसी, ३ मा दविले सुनार र सोही ठाँउकै डिके सुनारको मृत्यु भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पुजा–१ मा सुपारी मल्ल र छोरा मुकेश मल्लको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

त्यस्तै, लुङ–६ मा शिबबहादुर सुनारको पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै, लुङमा रञ्जना केसी र शुसीला केसीको पुरिएर मृत्यु भएको छ ।

बेपत्ता हुनेमा फोप्ली–३ का चेतमान पुन, उनको छोरी (नाम खुल्न सकेको छैन), चेतुना पुन, चेतुना पुनको छोरा र छोरी अझै बेपत्ता छन् ।

त्यस्तै, मानबहादुर पुन, पहिचान नभएको उनको आमा पनि बेपत्ता भएकी छन् ।

त्यस्तै, लुङ–३ मा शोभा रिजाल, काली परियार, किरण थापा, खवाङ–३ का कुटुरी सुनार बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मृत्यु हुनेमा फोप्ली–३ का ८ महिने बालिका नेपुली घर्ती, सेत्तु पुन, शेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, खोप्ली पुन, मने पुन, सागर पुन, त्यस्तै, फोप्ली–४ का सेमली पुन र छमी पुन रहेका छन् ।

जिल्लामा अधिकाश ठाँउमा उद्धारका लागि जिल्लामा स्रोत र साधनको अभाव तथा सडक अवरुद्ध हुँदा उद्धारकार्यमा ढिलो भएको छ । प्रभावित क्षेत्रमा पानी, खाद्यान्न र बसोबासकोसमेत अभाव रहेको छ ।

उता, प्यूठानमा हालसम्मकै विपत्ति आएको भन्दै पूर्वगृहमन्त्री बामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोख्रेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा, सांसदहरु दुर्गा पौडेल, हीराबहादुर केसी, धनबहादुर रायमाझी, पुनाराम थापा र पूर्वसांसद मुक्ति शर्मासहितको टोलीले बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीसहित रक्षा र गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

जिल्लामा तत्काल राहत तथा उद्धारमा ध्यान दिन भन्दै आफूहरुले केन्द्रको ध्यानाकर्षण गराएको डा. पोख्रेलले जानकारी दिए । 
फाइल फोटो