३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चन्दका कार्यकर्ता झन्डै एक महिनापछि धरौटीमा रिहा


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, वैशाख ११ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् ।

राजद्रोह मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

पर्वतको कुश्मा नगरपालिका–८ घर भएका परियारलाई कुश्मा नगरपालिका–१२, ठूलीपोखरीबाट गएको चैत १७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ठूलीपोखरीलगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिँडेको आरोपमा परियारलाई अस्थायी प्रहरीचौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

पर्वत प्रहरीले परियारलाई चन्द नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्यविरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालत पर्वतका न्यायाशीश सूर्यबहादुर थापाको इजालसले उनलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।