२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बस दुर्घटनामा पूर्वराज्यमन्त्रीसहित ८ जनाको मृत्यु, ८ गम्भीर घाइते, ६ जनाको सनाखत


0
Shares

कविराज घिमिरे/प्रकाश धौलाकोटी (इमेज)
धनकुटा, तेह्रथुम, साउन १३ । धनकुटाको परेवादिन गाउँ विकास समिति वडा नम्बर–५ सिधुवामा यात्रुबहाक बस दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित ८ जनाको मृत्यु भएको छ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री रहेका खेवा हाल नेकपा माओवादी केन्द्र धनकुटाका इन्चार्जसमेत थिए ।

तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवाबजारनजिकै विहीबार दिउँसो भएको यात्रुबस दुर्घटनामा खेवासहित ८ जनाको मृत्यु भएको हो ।

७ जनाको घटनास्थलमै र एकजनाको उपचारकाक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जनाइएको छ ।

खेवासहित धनकुटाको परेवादीन–७ की तारा बस्नेत, उनकी ३ वर्षीया छोरी खिममाया, सोही ठाउँकी अतिमाया तामाङ र धरान–२ का वेदप्रकाश अग्रवालको घटनास्थलमा मृत्यु भएको हो भने धनकुटा बुढीमोरङ–८ का सनम तामाङको उपचारकाक्रममा मृत्यु भएको हो ।

मृतकमध्ये बाँकी दुईजनाको अझै सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ८ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

संखुवासभाको मुढेशनिश्चरेबाट धरान आउँदै गरेको बा२ख ७३६६ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा ३२ देखि ३५ जनासम्म यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।