२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्यूठानमा जहाँतहीँ पानीको मुहान, स्थानीयबासी उच्चजोखिममा


0
Shares

                                                                  फाइल फोटो

सिटी पोख्रेल (रासस)
प्यूठान, साउन १३ । लगातारको वर्षासँगै आएको बाढी–पहिरोका कारण ठूलो मानवीय क्षति भएको प्यूठानमा अहिले जहाँतहीँ पानीको मुहान फुट्न सुरु गरेको छ ।

बाढी र पहिरोका कारण हालसम्म ३८ जनाको मृत्यु भइसकेको प्यूठानमा पहिरो गएको सबै ठाउँमा पानीको मुहान फुट्दा स्थानीयबासी थप त्रसित भएका छन् ।

पानीको सधैं अभाव हुने फोप्ली गाविसमा पहिरो गएको घरमुनिबाट पानीको मुहान फुट्न सुरु भएको छ ।

बुधबार राति फोप्ली–६ मा गएको ठूलो पहिरोबाट पनि पानीको मुहान फुट्न सुरु भएको स्थानीय शिव सुवेदीले जानकारी दिए ।

‘फोप्लीको सबै ठाउँमा पानीको चरम अभाव हुँदै आएको थियो । तर, एक्कासि पानीको ठूल्ठूला मुहान फुटेको छ’–सुवेदीले भने–‘सुक्खा ठाउँमा रहेका घरमुुनि पहिला पानीको मुहान फुट्ने र पहिरो जाने गरेको छ ।’

फोप्ली गाविसको ३, ४, ५ र ६ नम्बर वडाका जमिनमुनिबाट एक्कासि सुरु भएका पानीका मुहान एक दर्जन बढी रहेका छन् ।

लगातारको वर्षा र भूकम्पका कारण पनि सुक्खा ठाउँमा पानीको ठूल्ठूला मुहान आएको हुनसक्ने भूगर्भसम्बन्धी जानकार तथा जिल्ला वन कार्यालय प्रमुख धनञ्जय लामिछानेले बताए ।

‘लगातारको वर्षा र केही समय पहिलाको भूकम्पबाट जमिनमा ठूलो कम्पन भएको छ, प्यूठानमा बाढी र पहिरो गएको अधिकांश ठाउँमा जथाभावी सडक निर्माण र डोजर तथा स्काभेटर प्रयोग गरिएको ठाउँ पनि हो’–लामिछानेले भने–‘बस्तीसँगै जोडिएको जमिनमा चट्टान र माटो बीचमा ठूलो खाली ठाउँ देखापरेको छ ।’

पहाडी क्षेत्रमा रहेको जमिनमा माटोकोस्तर सामान्य प्रकृतिको रहने गरेको भन्दै लामिछानेले भूकम्पका कारण माटो र जमिनमुनिको चट्टानले ठाउँ छोडेको जानकारी दिए ।

‘यस्तो अवस्थामा एक्कासि पानीको मुहान फुट्ने र पहाडी क्षेत्रमा पहिरो जाने उच्चजोखिम रहेको हुन्छ’–उनले भने ।

जिल्लामा पछिल्लो तीन दिनसम्म गएको बाढी पहिरो र मानवीय क्षति भएका ठाउँमा पानीका दर्जनौं मुहान फुटेका छन् ।

उत्तरी प्यूठानको जरवारा, अर्खा, खवाङ र पुजाँ गाविसमा पनि जथाभावी पानीको मुहान सुरु भएको छ र पहिरो जानेक्रम रोकिएको छैन ।

जोखिमको उच्च क्षेत्र मानिएको फोप्ली र लुङमा गएका पहिरोमा अहिले सबैभन्दा ठूला पानीका मुहान सुरु भएका छन् ।

बुधबार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको पहिरोमा परी मृत्यु भएको ठाउँ पनि सुरक्षित रहेको तर राति एक्कासि जमिनमुनिबाट पानीको ठूलो मुहान फुटेपछि पहिरोमा परी मृत्यु भएको प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठोरले बताए ।

‘उद्धारका लागि म अहिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्लीमै छु, यहाँ अधिकांश क्षेत्रमा ठूला पानीका मुहान फुटेका छन् जसले बाँकी रहेका बस्ती पनि जोखिममा रहेका छन् । तर, हामीले अहिले उद्धार र खोजमा ध्यान दिएका छौं’–प्रनाउ राठोरले भने–‘उत्तरी क्षेत्रमा अहिले धेरै ठाउँ देख्दा सुक्खा देखिन्छ तर जमिनमुनिबाट एक्कासि पानीको मुहान आउने गरेको छ ।’

गृह मन्त्रालयले देशभरका सबै जिल्लामा जिल्लास्तरीय दैवी प्रकोप प्रतिकार्य योजना बनाउने निर्देशन दिएको जनाएको छ ।

‘गृह मन्त्रालयको समन्वयमा प्यूठानमा पनि यस्तो प्रतिकार्य योजना तयार भएको छ’–प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले भने–‘प्रतिकार्य योजनामा बाढी–पहिरो गएका यी क्षेत्र जोखिमका क्षेत्रमै परेका छन् । यी क्षेत्रमा बाढी पहिरो र आगलागीको उच्चजोखिम रहेको थियो । तर, यस्तो ठूलो क्षति हुने हामीले सोचेका थिएनौं ।’

पहिरोले धेरै क्षति पुर्‍याएको फोप्लीमै उद्धारका लागि खटिएका प्रजिअ पन्थले सो क्षेत्रमा जमिनमुनिबाट लगातार ठूला मुहान फुट्दा जोखिम यथावत् रहेको बताए ।

‘यी क्षेत्रलाई हामीले उच्चजोखिममा राखेर आज स्थानीयबासीलाई स्थानान्तरण गर्दैछौं । यहाँसँगै अन्य ठाउँमा पनि बस्ती जोखिममा परेका छन्, जहाँ पानीका ठूला मुहान फुटेका छन्’–प्रजिअ पन्थले भने ।

जिल्लामा विभिन्न क्षेत्रमा जोखिममा रहेका बस्ती नबस्न तथा पानीको मुहान फुटेको क्षेत्रबाट स्थानान्तरण हुन समेत आग्रह गरिएको छ ।

बाढी र पहिरोले त्रसित बनेको फोप्ली गाविसमा राहत सामग्री वितरण र स्थानीयबासीलाई सुरक्षित स्थानमा लैजान जिल्लास्तरीय राहत तथा उद्धार टोली गाउँमा पुगेको छ ।

झन्डै दुई घन्टाको पैदल हिँडेर फोप्ली पुगेका प्रजिअ पन्थ र प्रनाउ राठोर नेतृत्वको टोलीले गाउँमा उद्धार तथा राहत वितरणकार्य जारी राखेका छन् ।

प्रजिअ पन्थले नेपाली सेनाको सहयोगले राहत सामग्री बोकेर फोप्लीमा पुर्‍याउने र वितरण गर्ने कार्य गरिएको बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी पहिरोका कारण मृत्यु भएकालाई प्रतिपरिवार रु ४० हजार किरिया खर्च र घर भत्किएकाका लागि रु आठ हजार राहत वितरण गर्ने निर्णय गरेको छ ।

नेपाली सेनाको समन्वयमा हेलिकोप्टरमार्फत् राहत सामग्री ल्याउने गरी हेलिप्याड बनाइएको भएपनि हालसम्म राहत सामग्री ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था भने हुन सकेको छैन ।