३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


पहाडी क्षेत्रमा सडक विस्तारः विकास कि विनाश ? (भिडियो रिपोर्ट)


0
Shares

नारायणी लामिछाने/योगेश लामा (इमेज)

काठमाडौं, असार २६ । कुनै समय यस्तो थियो, पहाडमा पनि मोटर गुड्छभन्दा धेरैलाई पत्यार लाग्दैनथ्यो । तर, अहिले समय निकै परिवर्तन भइसकेको छ ।

नेपालमा यस्ता थोरै पहाड होलान्, जहाँ मोटर नगुडेको होस् । नेपालमा भएका विकासमध्ये सडकको विस्तार पनि एउटा प्रमुख उपलब्धि हो ।

तर, पहाडी क्षेत्रको भौगर्भिक अध्ययनबिना नै जथाभावीरुपमा सडक खन्दा पहाडहरु कमजोर भएका छन् । अनि, निम्तिएको छ पहिरोको समस्या ।

तराई–मधेसको तुलनामा पहाडी क्षेत्रमा बाटो विस्तारको क्रम धेरै छ । नगरपालिका र गाउँपालिकाले सडक विस्तारका लागि भनेरै अधिकांश बजेट विनियोजन गर्दछन् । त्यसैले पहाडी क्षेत्रमा अहिले बाटो खन्ने कामले तीव्रता पाएको छ ।

त्यतिमात्रै होइन, गाउँलेहरुले आफैं पैसा उठाएर पनि सडक बनाउने चलन पहाडतिर व्यापक छ ।

विकासका लागि पहिलो शर्त नै सडक हो । तर, पहाडी क्षेत्रमा दक्ष इन्जिनियर र भूगर्भविद्हरुको परामर्शबिना सडक विस्तार गर्नाले पहाडहरु कमजोर बन्दै गएका छन् ।

विज्ञहरुको परामर्श लिनुपर्छ भन्ने ज्ञान न त जनप्रतिनिधिहरुलाई छ न स्थानीय जनतालाई नै ।

थोरै रकमले धेरै बाटो बनाउने लोभले गर्दा पनि पहाडी क्षेत्रमा खनिएका बाटोको गुणस्तर कायम हुन सकेको छैन ।

किनकि, विज्ञ इन्जिनियर र भूगर्भविद्हरुलाई परामर्शदाताकारुपमा राख्दा केही रकम खर्च गर्नुपर्ने हुन्छ । जसलाई स्थानीय जनप्रतिनिधि र जनताले रुचाउँदैनन् । फलस्वरुप अहिले पहाडी क्षेत्र धाँजा फाटेको झैं भएको छ ।

महाभारत र चुरे शृंखला आफैंमा नयाँ पहाडहरु हुन् । यिनको भूबनोट कमजोर प्रकृतिको छ । यस्तो कमजोर धरातलमा विकासका काम गर्दा सही प्रविधिको प्रयोग गर्न नसक्ने हो भने भोलिका दिनमा हाम्रो विकासको ‘मोडल’ले हामीलाई नै सताउने निश्चित छ ।

परिस्थिति भयावह बन्नसक्ने भूगर्भविद्हरु बताउँछन् ।

अर्कोतर्फ विनियोजन गरेको बजेटलाई जसरी पनि सक्नैपर्ने मानसिकताले पनि पहाडका बाटोहरुलाई कमजोर बनाइरहेको छ ।

वर्षायाममा कमजोर धरातललाई सडक विस्तारका नाममा चलाउँदा पहिरोको जोखिम झनै बढेको छ ।

साना र खुद्रे सडक बनाउनभन्दा पनि ठूला आयोजनामार्फत् बलियो र पक्की सडक निर्माणमा जोड दिनुपर्ने देखिएको छ ।

पहाडी क्षेत्रमा सडक विस्तार गर्दा सरकारले नीतिगतरुपमै भूगर्भविद्हरुको परामर्शलाई अनिवार्य गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्